तेस्रो मनहर्वा गोल्डकप: वीरगन्ज र हेटौंडाबिच आज उपाधि भिडन्त
फाईनल खेल हेर्न टिकट दर एक सय
वि.सं.२०८० माघ २० शनिवार ०८:३४

बारा– तेस्रो मनहर्वा गोल्डकपमा आज उपाधि भिडन्त हुनेछ ।
जीतपुरसिमरा १८ स्थित मौवादेवी मैदानमा दिउँसो २ बजे हुने उपाधि भिडन्तमा वीरगन्ज युनाइटेड र रिगल रिसोर्ट हेटौंडाबिच प्रतिस्पर्धा हुनेछ ।

रौतहट फूटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकाे हेटौंडा साविक विजेता नवदुर्गा युवा क्लब सिमरालाई पन्छाउँदै फाइनलमा प्रवेश थियाे ।
पहिलो सेमिफाइनल खेलमा आयोजक मौवादेवी युवा क्लबलाई २-० ले पराजित गर्दै वीरगन्ज फाइनलमा प्रवेश गरेकाे छ । भरतपुर फूटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै वीरगन्जले सेमिफाइनलमा यात्रा निश्चित गरेकाे थियाे ।

प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले गरेका थिए भने समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलकाे प्रमुख आतिथ्य रहने भएको छ ।
फाइनल प्रतियोगिता हेर्न दर्शकलाई रु एक सय टिकट दर निर्धारण गरिएको छ । १२ बजेदेखि टिकट काउन्टर खुला हुनेछ ।
माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।
यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुई टिम मध्ये कुनै एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदान गरिने छ ।
यसैगरी २० हजारको एक जनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एकएक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।
त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई जनही ५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।
जिल्लाको मध्य स्थानमा रहेको बडहर्वा खेल मैदान दर्शकहरुको उपस्थितिका हिसावले उत्कृष्ठ प्रतियोगिता बन्दै आएको प्रतियोगिताका मिडिया संयाेजक पुष्पराज खतिवडा बताउँछन् ।
दैनिक हजारौं दर्शक स्वस्फूर्त खेल हेर्न आउने गरेको छन् । बडहर्वा खेल मैदानमा एक हजार जना दर्शक अटाउन सक्ने प्याराफिट समेत रहेको छ ।
यी हुन् सविक विजेता
सविक मनहर्वा गाउँ विकास समितिको नामबाट प्रतियोगिता नामाकरण गरिएको हाे ।
२०७३ मा तत्कालीन गढीमाइ नगरपालिका जीतपुरसिमरा उपमहानगरपालिकामा परिवर्तनपछि क्षेत्र विस्तार भएपछि मनहर्वाकाे जीतपुरसिमरा र केही भुभाग कलैया उपमहानगरमा गाभिएकाे थियाे ।
२०६९ मा पहिलो र २०७१ मा दोस्रो मनहर्वा गोल्डकप आयाेजना भएको थियाे ।
प्रतियोगिताकाे पहिलो संस्करणको उपाधि एपिएफ पिलुवा र दोस्रो नव दुर्गा युवा क्लब सिमराले जितेका थियाे ।
यस्तै पहिलोमा नव दुर्गा युवा क्लब सिमरा र दोस्रोमा एपिएफ पिलुवा उपविजेता भएको थियाे ।
पहिलो संंस्करणमा विजेतालाई पुरस्कार राशी २५ र उपविजेतालाई १५ हजार रुपैयाँ थियो ।
त्यस्तै दोस्रो संस्करणमा १ लाख १ रुपैंया र ५१ हजार १ रुपैंया थियो ।
९ बर्षपछि तेस्रो मनहर्वा गोल्डकपको आयोजना भएको हाे ।

वि.सं.२०८० माघ २० शनिवार ०८:३४