विपन्न तथा असहायको करैयामाई गाउँपालिकाले सामूहिक विवाह गरिदिने

वि.सं.२०८१ फागुन १३ मंगलवार ०९:५३

बारा–बाराको करैयामाई गाउँपालिकाले विपन्न तथा असहाय परिवारलाई लक्षित गरेर सामुहिक विवाह कार्यक्रमको आयोजना गर्ने भएको छ ।
गाउँपालिकाको कार्यालयले सोमबार सूचना जारी गर्दै सामूहिक विवाह कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ ।
गाउँपालिकाको १५ औं गाउँसभाबाट पारित योजना अन्तर्गत १० लाखको बजेटमा सामूहिक विवाह कार्यक्रम गर्न लागिएको हो ।
वैशाख ११ गते हुने उक्त वैवाहिक कार्यक्रममा सहभागी हुन चैत्र १५ गतेभित्र आवदेन दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोद्धारा जारी सूचनामा उल्लेख छ ।
वैवाहिक कार्यक्रमका लागि गाउँपालिका भित्र बसोबास गर्ने २० वर्ष उमेर पूरा भएका युवतीले मात्रै आवदेन दिन पाउने अधिकृत महतोले बताए । गाउँपालिकाले वैवाहिक कार्यक्रममा सहभागी हुने बेहुला र बेहुलीको नागरिकता तथा जन्मदर्ता अनिवार्य गरेको छ ।
वैवाहिक कार्यक्रममा सहभागी हुन आवेदन दिएका युवतीको परिवार विपन्न रहेनरहेको पहिचान गरिने र त्यसपछि मात्रै वैवाहिक कार्यक्रममा सहभागी गराईने महतोको भनाई छ ।
आवेदन दिएर वैवाहिक कार्यक्रमका लागि छानिएका युवतीको खर्च र भोजन गाउँपालिकाको कार्यालयले व्यहोर्ने छ ।

वि.सं.२०८१ फागुन १३ मंगलवार ०९:५३