निजगढका मुस्लिम समुदायले यसरी मनाए इद उल फित्र पर्व (भिडियोसहित)
वि.सं.२०८१ चैत १८ सोमवार २०:०७

बारा–बाराको निजगढका मुस्लिम समुदायले इद उल फित्र पर्व मनाएका छन् । सरकारले यस पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।
इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । इदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो ।
रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । एक महिनाको अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिने निजगढस्थित मस्जिदका मौलाना महमद् कबुरुदीन अल्कास्दी ले बताउँछन् ।
नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ । सरकारले यस दिन सार्वजनिक बिदा दिने प्रचलन राखेको छ, जसले धार्मिक सद्भावलाई अझ सुदृढ बनाउने काम गरेको छ ।
नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ । यो अवसरमा दान (जकातुल फितर) दिनु अनिवार्य मानिन्छ, जसले गरीब तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई मद्दत गर्न सकिन्छ ।
इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू समावेश गरिन्छन् ।
बाराको निजगढका मुस्लिम समुदायले एकअर्काको घरमा पुगेर शुभकामना साट्नुका साथै सवाई खाएका छन् ।
ईदमा परिवारजन, आफन्त तथा छिमेकीहरूबीच भोज तथा भेटघाटले भाईचार बढाउन मदत पुगेको जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुर बताउँछन् ।
मुस्लिम समुदायको विचमा आपसी एकता बढाउने अभियान चलाईएको नेता मन्सुरको भनाई छ ।
भिडियो

वि.सं.२०८१ चैत १८ सोमवार २०:०७