करैयामाई गाउँपालिकामा शोक बिदा घोषणा
वि.सं.२०८२ साउन २१ बुधवार १७:३५

बारा-करैयामाई गाउँपालिका–१, हर्दैया निवासी वडा सदस्य मन्जुर आलम अंसारीको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै करैयामाई गाउँपालिकाले एक दिनको शोक बिदा घोषणा गरेको छ।
गाउँपालिकाको कार्यपालिकाको कार्यालयबाट सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “स्व. अंसारीको निधनले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको छ। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकप्रति श्रद्धाञ्जलीस्वरूप साउन २२ गते (२०८२/०४/२२) बिहीबार एक दिन सम्पूर्ण गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहनेछ।”
गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामा यो जानकारी सार्वजनिक गरिएको उल्लेख छ।
मन्जुर आलम अंसारी करैयामाई गाउँपालिका वडा नम्बर १ का सक्रिय जनप्रतिनिधि थिए। सामाजिक सेवामा अग्रसर रहँदै आएका अंसारीको निधनले गाउँले समाजमा ठूलो शोकको छाया परेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले अंसारीको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरेको छ ।
वि.सं.२०८२ साउन २१ बुधवार १७:३५
















