निजगढ फुटबल क्लबका अध्यक्ष थापाको मंगलबार विहान शव यात्रा निकालिने
सहिद हिरालाल रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने
वि.सं.२०८२ पुस २१ सोमवार १९:५८

बारा–निजगढका पूर्व फुटबल खेलाडी तथा निजगढ फुटबल क्लब अध्यक्ष शम्भु थापा मगरको निधनप्रति खेलकुद क्षेत्र शोकमा डुबेको छ।
स्व.थापा मगरको पार्थिव शरीर आज मंगलबार बिहान ८ बजे निजगढस्थित आफ्नै निजी निवासबाट अन्तिम यात्राका लागि निकालिने जनाइएको छ ।
पार्थिव शरीरलाई बुद्धचोकबाट परिक्रमा गर्दै सहिद चोक हुँदै क्याम्पस रोडबाट सहिद हिरालाल रंगशालामा ल्याइनेछ, जहाँ केही समयका लागि अन्तिम श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ ।

श्रद्धाञ्जली कार्यक्रमपछि स्व. थापा मगरको पार्थिव शरीर बकैया आर्यघाटमा अन्त्येष्टि गरिने निजगढ फुटबल क्लबले जानकारी दिएको छ।
निजगढ नगरभित्रका सम्पूर्ण संघ–संस्था, क्लब, खेलाडी तथा खेलप्रेमीहरूलाई अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भई स्व.शम्भु थापा मगरप्रति श्रद्धासुमन अर्पण गर्न अनुरोध गरेको छ।
स्व. थापा मगरले निजगढको फुटबल विकासमा पुर्याएको योगदान सदैव स्मरणीय रहने स्थानीय खेलकर्मीहरूको भनाइ छ ।
वि.सं.२०८२ पुस २१ सोमवार १९:५८
















