भूमी आयोग बाराको अध्यक्ष नियुक्तिमा एमालेभित्रै किन असन्तुष्टि ? को हुन् घले
सहयोगको अपेक्षा : घले
वि.सं.२०८१ माघ १ मंगलवार २०:१९

बारा–भूमि समस्या समाधान आयोग बाराको अध्यक्ष नियुक्त भएपछि गृह नगर अम्लेखगञ्जमा भरतबहादुर घले अभिनन्दन भईरहदा सामाजिक सञ्जालमा एमालेकै नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
आयोग अध्यक्ष चयनको विषयले नेकपा (एमाले) बारामा विवाद रहेको उजागर गरेको छ । एमाले बाराका नेता अम्बिकाप्रसाद चौलागाईले एमाले विरुद्ध चुनाव लडेको ब्यक्ति आज भुमि आयोगको अध्यक्ष रे ? भन्दै घलेको नियुक्तिको विषयमा असुन्तुष्टि पोखेका हुन् । भूमि समस्या समाधान आयोग बाराका पूर्व अध्यक्ष समेत रहेका चौलागाई एमालेभित्र अध्यक्ष ओली निकट नेता हुन् ।
त्यस्तै अर्का एमाले नेता रमेश सापकोटाले पनि घलेको नियुक्तिको विषयमा व्याङत्मक रुपमा लेखेका छन्–म अर्को संसदीय चुनावमा बालक चिन्ह लिएर पार्टीको विरुद्ध चुनावमा उठ्छु अनि भुमी समस्या समधान आयोगको अध्यक्ष ग्यारेन्टी बन्नेछु जय होस नेकपा एमालेको ।
यी दुई स्टाट्सको आशय भने एकै छ–एमालले बागीलाई पुरस्कार दियो !
बागिलाई पुरस्कार भन्दै आलोचना !
२०७४ सालको प्रदेश सभा निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्ध बालक चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए । बारा क्षेत्र नं. ४ (क) क्षेत्रका तत्कालिन नेकपाको तर्फबाट एमाले नेता सुन्दर विश्वकर्मा उम्मेदवार थिए । पार्टीभित्र माधवकुमार नेपाल निकट थिए विश्वकर्मा ।
नेकपाभित्र अन्तर संघर्षको बेलामा माधव–प्रचण्ड र ओलीमा नेताहरु बाँडिदा घले ओलीतर्फ लागेका थिए । त्यसयता निरन्तर ओली निकट रहदै आएका घलले २१ पुषमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीका अध्यक्ष ओलीसँगको भेटबारे तस्वीर सार्वजनिक गरेका थिए ।

आयोग बाराको नेतृत्वका लागि प्रभावशाली नेताहरुलाई पाखा लगाउँदै नियुक्ति हातपारेसँगै अध्यक्ष ओलीसँगको निकटता र प्रभाव समेत उजागर भएको छ ।
को हुन् घले ?
आयोगको अध्यक्षमा नियुक्त भएका घले बाराको जीतपुसिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका स्थानीय हुन् । उनी साविक अम्लेखगञ्ज गाउँ विकास समितिको दुई पटक अध्यक्ष भएका थिए ।
पार्टी राजनीतिसँगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालमा सक्रिय रहदै आएका घले महासंघको उपमहासचिव समेत हुन् ।
सहयोगको अपेक्षा : घले
यसैविच अम्मेखगञ्जमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलले भूमि आयोग अन्तिम आयोग रहने भन्दै विश्वस्त रहन आग्रह गर्दै आ–आफ्नो ठाउँबाट सहयोगको अपेक्षा रहेको सुनाए । उनले अध्यक्ष चयन भएपनि अरु सदस्य चयन हुन बाँकी रहेको बताए ।
मेयरले दिए बधाई
नव नियुक्त अध्यक्ष घलेलाई जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मेयर पौडेलले अध्यक्षसहित समग्र पदाधिकारीहरुको कार्यकालमा जीतपुरसिमरा उपमहानगरपालिका लगायत समग्र बारा जिल्लाको भूमीसंग सम्बन्धित समस्याहरु समाधान गरी गौरवान्वित कार्य सम्पन्न गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

वि.सं.२०८१ माघ १ मंगलवार २०:१९