skip this

सिंगौल एफसी फाइनलमा प्रवेश, बन्देवी युवा क्लब ३–१ ले पराजित

39 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ-बाराको निजगढमा सञ्चालन भइरहेको दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिंगौल एफसी विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

सिंगौल एफसीले आयोजक बन्देवी युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सिंगौल एफसीको जितमा खेलको ११औँ मिनेटमा आत्मघाती गोल भएको थियो भने १९औँ मिनेटमा राहुल अर्याल र ५५औँ मिनेटमा प्रितम चौधरीले थप एक–एक गोल गरेका थिए । यता आयोजक बन्देवी युवा क्लबका लागि ३३औँ मिनेटमा सुदीप लामाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिंगौल एफसीका अभिषेक वाइबा म्यान अफ द म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिका वडा नं. १ का वडाध्यक्ष मंगले लोप्चनले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल हुनेछ । दिउँसो २ बजे हुने खेलमा ट्रयाक्टर संघ निजगढ–४ र पशुपति युवा क्लब गुजरा आमनेसामने हुने आयोजक बन्देवी युवा क्लबका सचिव हस्तबहादुर दर्लामीले जानकारी दिए ।

दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा सिंगौल एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

nijgadh-supermart-adz1200-630