पशुपति युवा क्लब गुजरा फाइनलमा प्रवेश, उपाधिका लागि सिंगौल एफसीसँग भिड्ने
वि.सं.२०८३ कात्तिक २२ आइतवार २१:०२

निजगढ–बाराको निजगढमा सञ्चालन भइरहेको दोस्रो सिंगौल नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आईतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पशुपति युवा क्लब गुजरा विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
पशुपति युवा क्लब गुजराले ट्रयाक्टर संघ निजगढ–४ लाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा सिंगौल एफसीसँगको भेट पक्का गरेको हो ।
पशुपतिको जितमा खेलको अन्तिम मिनेटमा राजकुमार तामाङ्गले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पशुपतिका राजकुमार तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरपालिकाका कार्यपालिका सदस्य मानबहादुर डासेली (अर्जन) ले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताअन्तर्गत फाईनल खेल मंगलबार दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको अवसरमा सोमबार दिउँसो ३ बजे महिला टिमको मैत्रीपूर्ण फुटबल आयोजना गरिएको आयोजक बन्देवी युवा क्लबका सचिव हस्तबहादुर दर्लामीले जानकारी दिए ।
वि.सं.२०८३ कात्तिक २२ आइतवार २१:०२

















