वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)
वि.सं.२०७९ असार १० शुक्रवार २०:१४

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल)मा भएको नगरसभाको ११औँ अधिवेशनमा ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
मधेस प्रदेशको एक मात्र महानगरपालिकाले आगामी वर्षमा चालुतर्फ दुई अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरेको छ । महानगरले चालुतर्फ ६२.०४ प्रतिशत र पुँजीगततर्फ ३७.९६ प्रतिशत बजेट विनियोजन गरेको हो ।
महानगरले चालु आर्थिक वर्षमा तीन अर्ब ५५ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा चालुतर्फ एक अर्ब ८६ करोड ३५ लाख रुपैयाँ र पुँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख रुपैयाँ विनियोजित गरेको थियो । यद्यपि यसअघिका जनप्रतिनिधिले पूरा बजेट खर्च गर्न सकेका थिएनन् ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपुरक, सशर्त र विशेष अनुदानसमेत गरी) एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपुरक, सशर्त र विशेष अनुदानसमेत गरी) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।
यस्तै, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एसियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिति कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने उपप्रमुख आलमले जानकारी दिए ।

महानगरले शिक्षा, युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्यतर्फ एक करोड २० लाख ३० हजार, कृषितर्फ तीन करोड २६ लाख ९० हजार, पूर्वाधारतर्फ एक अर्ब १९ करोड ९३ लाख, सामाजिक विकासतर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै, सूचना प्रविधि र सञ्चारतर्फ एक करोड पाँच लाख ९५ हजार, सेवा प्रवाह संगठन सुदृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाई व्यवस्थापनमा ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अपांगता, संस्थागत विकास, राजस्व तथा अन्य आय संकलन व्यवस्थापनका लागि पनि बजेटको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटमा भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, सूचना प्रविधि, ज्येष्ठ नागरिक सम्मान जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
करको दर होइन, दायरा बढाइने
महानगरपालिकाले करको प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउने प्रतिवद्धता व्यक्त गर्दै कर प्रणालीलाई पुनरवलोकन गर्दै करको दर नबढाई दायरा बढाउने नीति लिएको छ । त्यस्तै, महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म घरको नक्सा पास नगराई घर बनाउने व्यक्तिले आगामी पुस मसान्तभित्र घरको नक्सा बनाए दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए ।
त्यसैगरी व्यवसाय दर्ता नगरेका र घर तथा भवन भाडामा लगाई घर बहाल कर नतिरेकाहरूले पनि पुस मसान्तभित्र व्यवसाय दर्ता गराएर र घर बहाल कर तिरे तोकिएको प्रतिशतले छुटको व्यवस्था गरिएको सिंहले बताए । तोकिएका करहरू वडा कार्यालयबाट तिर्ने गरी अनलाइन प्रणालीको विकास गरी भदौ मसान्तको दोस्रो सातासम्ममा लागु गरिनेसमेत सिंहले जानकारी दिए ।
फोहोर व्यवस्थापनको जिम्मा वडालाई
सिंहले वीरगञ्ज महानगरपालिकाले फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मा वडालाई दिने निर्णय गरेको छ । वडा कार्यालयलाई आवश्यक उपकरण र जनशक्ति प्रदान गर्दै फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मा वडालाई दिने निर्णय गरिएको छ । त्यस्तै ल्यान्डफिल साइटका लागि फोहर व्यस्थापन गर्न थप पूर्वाधार तथा उपकरणको व्यवस्थापन गरिने पनि उनले भने । नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने र पूराना शौचालयहरूको मर्मत सम्भार गर्दै व्यवस्थित बनाइने सिंहले बताए । उनले शहरभरि जालोझैँ जेलिएका टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरूको तार र जथाभाबी राखिएका होर्डिङ बोर्डहरूको पनि व्यवस्थापन गरिने उनले बताए ।
मेयर सिंहले वीरगञ्ज प्लास्टिकको कालो झोलाको प्रयोग न्यूनीकरण गर्दै सबै प्रकारका प्रदूषण नियन्त्रणका साथै खुल्ला दिशामुक्त बनाइने र जनचेतना कार्यक्रम गरिने बताए ।
ट्रान्सपोर्ट नगरको स्थापना
सिंहले वीरगञ्जमा देशमै नमुना हुनेगरी व्यवस्थित गोदाम, पार्किङ र अन्य सुविधासहित ट्रान्सपोर्ट नगरको स्थापना गरिने महानगरपालिकाले जनाएको छ । त्यसैगरी उनले वीरगञ्जमा चक्रपथको निर्माण गरी महानगरको ३२ वटै वडालाई सडक सञ्जालसँग जोडिने मेयर सिंहले बताए । महानगरको पर्यटकीय क्षेत्रका रूपमा परिचित बिन्दवासिनी मन्दिर, पिपरा नृसिंह मन्दिर र भिष्वा चैत्य विहारको डीपीआर तयार गरी वृहत निर्माण कार्य अघि बढाउने योजनासमेत रहेको सिंहले बताए । वीरगञ्ज महानगरपालिकाको एकीकृत सहरी विकास योजना बनाएर सोही अनुसार शहरी विकास कार्यलाई अगाडि बढाइने, महानगरका महत्वपूर्ण स्थानहरूमा सीसीटिभी क्यामेरा जडान गरी आधुनिक सीसीटीभी कन्ट्रोल रुमको स्थापना गरी वीरगञ्जलाई सुरक्षित बनाइने उनले बताए ।
सीमावर्ती सहर रक्सौलसँग सहकार्य गरी वीरगञ्जलाई मैत्री शहरको रूपमा विकिसित गरिने योजना पनि आफूहरूको रहेको सिंहको भनाई छ । उनले वारुण यन्त्र (दमकल) र एम्बुलेन्स सेवालाई महानगरको ग्रामिण क्षेत्रसम्म पुर्याई सेवा विस्तार गरिने बताए ।
बजेट वक्तव्यको पूर्णपाठ :
वि.सं.२०७९ असार १० शुक्रवार २०:१४
















