skip this

इमानदारीको उदाहरण बने निजगढका नवराज गौतम, भेटिएको पैसा र महत्वपूर्ण कागजातसहितको पर्स फिर्ता

774 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाटोमा भेटिएको नगद रकम र महत्वपूर्ण कागजातसहितको पर्स सम्बन्धित धनीलाई फिर्ता गरेर बाराको निजगढका एक युवाले इमानदारी र सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन् ।

निजगढ नगरपालिका–५ बागदेवका नवराज गौतमले निजगढस्थित शहीदचोकमा पूर्व–पश्चिम महेन्द्र राजमार्गको छेउमा बेवारिसे अवस्थामा फेला परेको पर्स त्यसकी धनीलाई खोजेर फिर्ता गरेका हुन् ।

पर्सभित्र रहेको मोटरसाइकल सर्भिसिङसम्बन्धी कागजातमा उल्लेख गरिएको फोन नम्बरका आधारमा पर्स हराएकी निजगढ नगरपालिका–६ सडकटोलकी नितिमा तिमल्सिनालाई सम्पर्क गरेको गौतमले बताए ।

सञ्चारकर्मीको उपस्थितिमा उनले पर्स सुरक्षित रूपमा तिमल्सिनालाई हस्तान्तरण गरेका हुन् ।

पर्समा नगद रकमसँगै महत्वपूर्ण व्यक्तिगत कागजातसमेत रहेका थिए । ती सामग्री गुमाउँदा सम्बन्धित व्यक्तिलाई आर्थिक क्षतिसँगै विभिन्न प्रशासनिक झन्झटसमेत हुन सक्ने अवस्था थियो ।

सामान्यतया बाटोमा भेटिएको नगद तथा बहुमूल्य सामान आफैँसँग राख्ने प्रवृत्तिका घटना सुनिने समाजमा गौतमले देखाएको इमानदारीले सकारात्मक सन्देश दिएको छ ।

हराएको सामान फिर्ता पाउनु तिमल्सिनाका लागि राहतको विषय बनेको छ भने गौतमको यस कार्यले अरूलाई पनि नैतिकता, इमानदारी र मानवीयताको बाटोमा अघि बढ्न प्रेरित गरेको छ ।

तिमल्सिनाले पैसा भन्दा पनि पर्समा रहेको महत्वपूर्ण काजगात गुमाउनबाट जोगिएपछि खुसी व्यक्त गरिन् । उनले नवराजलाई धन्यवाद समेत दिईन् ।

भेटिएको सम्पत्ति आफ्नो होइन, सम्बन्धित व्यक्तिको हो भन्ने सोच राख्ने नवराज गौतमको यो कार्य वास्तवमै प्रशंसनीय छ ।

nijgadh-supermart-adz1200-630