skip this

वीरगन्जमा आवासीय चिकित्सकको आन्दोलन अन्त्य, सहमतिपछि आजैदेखि नियमित ड्युटीमा फर्किने

87 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगन्ज-वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सक र कलेज प्रशासनबीच विभिन्न माग सम्बोधन गर्ने विषयमा सहमति जुटेसँगै जारी आन्दोलन अन्त्य भएको छ। सहमतिपछि आन्दोलनरत आवासीय चिकित्सकहरू आजैदेखि नियमित काममा फर्कने भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल, आवासीय चिकित्सक तथा कलेज प्रशासनबीच भएको छलफलपछि विवाद समाधानको बाटो खुलेको हो ।

सम्झौतामा आन्दोलनमा सहभागी भएको आधारमा कुनै पनि चिकित्सकमाथि प्रतिशोध साँध्न, कारबाही गर्न, धम्की दिन वा मानसिक दबाब सिर्जना गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ । त्यस्तै, आन्दोलनकै कारण कसैलाई कलेज वा छात्रावासबाट निष्कासनसमेत गर्न नपाइने सहमति भएको छ।

चिकित्सकहरूले उठाउँदै आएका आर्थिक तथा कार्यसमयसम्बन्धी मागलाई पनि सम्झौतामा समेटिएको छ। कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गर्ने, सातामा दुईभन्दा बढी २४ घण्टे ड्युटी नलगाउने र ड्युटीपछि आवश्यक आरामको व्यवस्था गर्ने सहमति भएको छ।

त्यसैगरी, नियमित परीक्षा तथा शोधपत्र स्वीकृतिमा अनावश्यक अवरोध नगर्ने, राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका चिकित्सकलाई समेत बिनासर्त पुनः भर्ना गर्ने व्यवस्था गरिएको छ ।

स्त्री तथा प्रसूति रोग विभागका ६ जना चिकित्सकको अनुपस्थिति र रोकिएको स्टाइपेन्ड फिर्ताका लागि त्रिभुवन विश्वविद्यालयको आईओएम डिन कार्यालयमा आवश्यक पहल गर्ने पनि सम्झौतामा उल्लेख छ ।

हाजिरीसम्बन्धी विवाद समाधान गर्न विभागीय प्रमुखको विवरण तथा पुष्टिका आधारमा हाजिरी कायम गर्ने र २०८३ वैशाख १३ गतेदेखि छुटेका हाजिरी पुनः कायम गर्न डिन कार्यालयसँग समन्वय गर्ने सहमति भएको छ। बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र कार्यक्रम संयोजक दुवैको हस्ताक्षरलाई पर्याप्त मानिने व्यवस्था पनि गरिएको छ।

कलेज प्रशासनले सम्झौतामा हस्ताक्षर गर्दै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। उता, आवासीय चिकित्सकहरूले पनि सहमतिका बुँदा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

लामो समयदेखि जारी असमझदारी अन्त्य भएसँगै नेसनल मेडिकल कलेजको आवासीय चिकित्सकसम्बन्धी सेवा तथा शैक्षिक गतिविधि नियमित हुने अपेक्षा गरिएको छ ।

nijgadh-supermart-adz1200-630