निजगढको बकैयामा उत्खनन सुरु, खोला खन्नेलाई नै थाहा छैन मापदण्ड
वि.सं.२०८३ मंसिर ८ मंगलवार १३:३८

बारा–बाराको निजगढस्थित बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन सुरु भएको छ। तर उत्खननमा संलग्न व्यक्तिलाई खोलाबाट गिट्टी, बालुवा र ग्राभेल निकाल्दा पालना गर्नुपर्ने मापदण्डबारे पर्याप्त जानकारी नभएको पाइएको छ।
मापदण्ड भन्दा बढी खनेर नदीजन्य पदार्थ निकालिएको विषयमा गुनासो आएपछि फरक नेपालको टोली स्थलगत रुपमा पुग्दा भेटिएका श्रमिक गोविन्द माझिले आफुहरुलाई कुन ठाउँमा र कति गहिराईमा खन्नेबारे कुनै जानकारी नभएको सुनाए । उनले साँझ ७ बजेसम्म पनि उत्खनन् हुने गरेको समेत सुनाए ।

नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाइए पनि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र सरकारले निर्धारण गरेका मापदण्डअनुसार काम भइरहेको छ वा छैन भन्ने विषयमा प्रश्न उठेको छ। उत्खननमा संलग्नहरूलाई नै मापदण्डबारे जानकारी नहुँदा खोलाको प्राकृतिक स्वरूप र वातावरणमा पर्ने असरप्रति चिन्ता बढेको छ।
यसअघि पनि बकैया खोलामा मापदण्डविपरीत उत्खनन भएको विषय सार्वजनिक भएको थियो। विगतमा गरिएको अनुगमनका क्रममा खोलामा स्वीकृत मापदण्डभन्दा बढी गहिराइसम्म उत्खनन भएको पाइएको थियो।
अनुगमनका क्रममा तीन फिटसम्म मात्रै उत्खनन गर्न पाउने व्यवस्था भए पनि कतिपय स्थानमा करिब १० फिटसम्म गहिरो खनिएको पाइएको भन्दै तत्काल उत्खनन रोक्न निर्देशन दिइएको थियो।

नदीजन्य पदार्थ उत्खनन गर्दा स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदन, ठेक्का सम्झौता र प्रचलित मापदण्डअनुसार तोकिएको स्थान, परिमाण र गहिराइको सीमा पालना गर्नुपर्ने व्यवस्था छ।
नदीजन्य पदार्थ बिक्री वितरणको ठेक्का निजगढ नगरपालिका ९ को महागौंरी सप्लार्यसले पाएको छ ।
खोलामा जथाभावी उत्खनन हुँदा नदीको प्राकृतिक बहाव परिवर्तन हुने, भूक्षय बढ्ने, आसपासका बस्ती तथा पुलमा जोखिम सिर्जना हुने र भूमिगत पानीको स्रोतमा समेत असर पर्न सक्ने वातावरणविद्हरूको चिन्ता छ।
स्थानीय तहले राजस्व सङ्कलनका लागि ठेक्का लगाउने तर उत्खननको प्रभावकारी अनुगमन नगर्ने प्रवृत्तिले समस्या थप जटिल बन्न सक्ने देखिन्छ।
बकैया खोलामा भइरहेको उत्खननको वास्तविक अवस्था, ठेक्का सम्झौतामा उल्लेखित परिमाण र मापदण्ड पालना भए–नभएको विषयमा निजगढ नगरपालिका तथा जिल्ला अनुगमन समितिले नियमित अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।
मापदण्डबारे जानकारी नै नभएका उत्खननकर्ताबाट खोलाको संरक्षण र व्यवस्थित उत्खननको अपेक्षा कसरी गर्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ।
वि.सं.२०८३ मंसिर ८ मंगलवार १३:३८
















