skip this

वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा, ३५ लाखभन्दा बढी बिगो दाबी

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका-५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पोखरी ठेक्काबापतको रकम राज्यलाई नबुझाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सोही वडामा रहेको सुब्बा पोखरी ठेक्काबापत बुझाउनुपर्ने रकम नबुझाइ ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीमाथि बिगो दाबी गरिएको छ ।

यादवले २०७३ माघ ४ गतेसम्म १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ भुक्तान गरेपनि त्यसपछि बाँकी रकम नतिरेको दाबी अख्तियारको छ ।

उनीसँग त्यति नै बराबरको बिगो र सजाय माग दाबी लिइएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।

सुब्बा पोखरीका ठेकेदार वडाध्यक्ष यादव नै थिए। उनले पोखरी हकभोग गरेवापत् ठूलो रकम वडाध्यक्ष निर्वाचितपछि नबुझाएको आरोपमा अख्तियारले अनुसन्धान सुरू गरेको थियो।

यादवले पदको प्रभाव पारेर निर्वाचित भएपछि कुनै पनि किस्ता नबुझाएको पाइएको अख्तियारले जनाएको छ।

यस्ताे छ विज्ञप्ति 

जिल्ला महोत्तरी, पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादव उपर बिगो रु. ३५,२१,२०४।८० कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
प्रेस विज्ञप्ति:- मिति २०७८।१०।२७ गते ।
—————————————————-

जिल्ला महोत्तरी सहोडवा गा.वि.स. वडा नं. ६ को हाल पिपरा गाउँपालिका वडा नं. ५ मा पर्ने सुब्बा पोखरीको तत्कालीन सहोडवा गा.वि.स.को कार्यालयले मिति २०७१ साल भाद्र १ गतेदेखि २०७६ साल भाद्र मसान्तसम्मको लागि ठेक्का बन्दोबस्त हुँदा तत्कालीन सहोडवा गा.वि.स. वडा नं. १ मा बस्ने हाल पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवको नाममा ठेक्का स्वीकृत भएको र निजले उक्त सुब्बा पोखरी हकभोग गरेवापत गा.वि.स.को कार्यालयलाई ठेक्कावापतको बुझाउनुपर्ने रकम नबुझाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला महोत्तरी साविक सहोडवा गा.वि.स. वडा नं. ६ हाल पिपरा गाउँपालिका वडा नं. ५ स्थित रहेको ठुलो सुब्बा पोखरी ठेक्का (२०७१ साल भाद्र १ गतेदेखि मिति २०७६ साल आषाढ मसान्तसम्मको लागि रु.५४,६४,००६।-) सकार गर्ने शम्भु प्रसाद यादवले मिति २०७३।१०।०४ सम्ममा जम्मा रु.१९,४२,८०१।२० मात्र साविक सहोडवा गा.वि.स.लाई बुझाएकोमा आफू वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्‍याई ठुलो सुब्बा पोखरीको ठेक्कावापतको बाँकी रकम रु.३५,२१,२०४।८० (पैतीस लाख एक्काइस हजार दुई सय चार रुपैयाँ असी पैसा) साविक सहोडवा गा.वि.स. हाल पिपरा गाउँपालिका, महोत्तरीलाई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएको देखिँदा निज वडाध्यक्ष शम्भु प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम दफा ३(१) र दफा ३(१) को खण्ड (छ) बमोजिम सजाय हुन तथा हानिनोक्सानी भएको सम्पत्ति रु.३५,२१,२०४।८० सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन समेतको मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी

nijgadh-supermart-adz1200-630