चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य : ओली
वि.सं.२०७८ फागुन २४ मंगलवार १६:११

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गरे ।
उनले भने–‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे ? कुन हिसावले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ? कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिन्ह रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि । मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन । मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदी आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’
उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्धा जितेर आएको भन्दै ब्यङ्ग्य गरे ।
ओलीले परमादेशलाई जनादेशले विस्थापित गर्ने बताए। समृद्ध नेपाल सुखी नेपाली बन्छ भन्ने केहीलाई पीर परेको भन्दै उनले तिनीहरुको हैसियत सुगा जतिको पनि नभएको बताए।
‘समृद्ध नेपाल सुखी नेपाली भनेर पढाएको छु भन्नै जान्दैनन्। नेपालमा कोही भोकै मर्दैन भन्ने कुरा अन्तर्राष्ट्रिय रुपमा चुनावपछि म सरकार बनाएर स्थापित गर्छु। पीर पर्ने मान्छेहरु थोरै छन्। हामी गरेर देखाउँछौं,’ उनले भने।
ओलीले एमालेसँग जनमत भएको भन्दै त्यसलाई व्यापक र सुदृढ बनाउन मेहनत गर्नुपर्ने बताए। ‘यहाँ थुप्रो मन्थरा र थुप्रो सकुनीहरु छ। एउटी मन्थराले रामलाई वनवास पठाइन्, सकुनीले हस्तिनापुरको विनाश गरे। यस्ताबाट सचेत हुँदै मेहनत गर्नुस्,’ उनले भने।
वि.सं.२०७८ फागुन २४ मंगलवार १६:११
















