skip this farak Kura Pravakar

धानको बाला डुबाएको बेमौसमी झरी : आर्थिक वृद्धिदर नै घट्ने

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आइतबारदेखि परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा क्षति पुर्‍याएको छ । काटेर खेतमै सुकाइएको धानको बाला पानीमा डुबेको छ । नकाटिएको धानको बोट पनि हावाहुरीले लडाएको छ । पहाडी क्षेत्रमा अलिक ढिलागरी पाक्ने रैथाने धानको फूल पानीले बगाइदिँदा अब साविक मात्रामा धान भित्र्याउन पाइने आशा मरेको छ ।

धान डुबेपछि किसानको भकारी नभरिने त निश्चित छ नै, धानको बाला डुबाएको यो बेमौसमी झरीले देशको आर्थिक वृद्धिदरमै झड्का दिने निश्चित भएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । विश्व बैंक र एसियाली विकास बैंकलगायत दातृ संस्थाहरूले भने नेपालको वृद्धिदर औषतमा करिब ४ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा प्रतिहेक्टर ३.८२ मेट्रिकटन धान उत्पादन भएको तथ्यांक कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तयार गरेको छ । अघिल्लो आर्थिक वर्षसम्मको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २०.२ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कृषि क्षेत्रमा धानबालीको योगदान करिब १२ प्रतिशत छ ।

‘पाकेको धान भित्र्याउन नपाइ पानीले नष्ट गरेको छ, ती क्षेत्रमा गरिबी, आयात, भोकमरी र खाद्यान्नको मूल्य बढ्छ, किसानलाई थप तड्पिन नदिने हो भने सरकारले राहत प्याकेज ल्याउनुपर्छ,’ रातोपाटीसँग कुरा गर्दै अर्थविद् केशव आचार्यले भने, ‘औषतमा नेपालको जीडीपीमा कृषिको योगदान २५ प्रतिशतजति रहिआएको छ, कृषिमा धानको योगदान १५ प्रतिशतजति रहन्छ, समग्र जीडीपीमा धानको योगदान ४ प्रतिशतजति हुन आउँछ । अन्नभण्डार मानिने तराईका एक तिहाइ जिल्लामा मात्रै असर गर्दा पनि जीडीपी १ प्रतिशतले घट्छ ।’

बेमौसमी वर्षाले प्रदेश नम्बर २ मा लगाइएको धान खेतीमा पनि असर गरेको छ । सो प्रदेशमा अन्यत्रजस्तै क्षति पुगेको भए नेपालको जीडीपी कम्तिमा १.५ प्रतिशतले घट्ने र ३ देखि ४ खर्ब रुपैयाँसम्म गुम्ने स्थिति निम्तने अर्थविद् आचार्यले बताए ।

यो वर्ष मनसुनी वर्षा पर्याप्त भएकाले नेपालमा धान खेती बढ्ने अपेक्षा गरिएको थियो । पानी पर्याप्त परेकाले साविकभन्दा धेरै क्षेत्रफलमा धान लगाइएको थियो । यसकारण झण्डै ५६ लाख मेट्रिकटन धान उत्पादन हुने कृषि तथा पशुपंक्षी मन्त्रालयले अनुमान गरेको थियो । तर, यो अनुमानलाई बेमौसमी झरीले बगाइदिएको छ ।

पानीले भिजाएर बाँकी रहेको धान जेनतेन भित्र्याएपनि त्यो उपभोगका लागि स्वस्थकर नहुने कृषिविज्ञहरू बताउँछन् । तीन दिनसम्म पानीमा डुबेको धान उम्रिन (पोसाउन) थालिसकेको छ । त्यस्तो धान कुट्दा कनिकामात्रै निस्कने समस्या हुन्छ ।

nijgadh-supermart-adz1200-630