बाराको कलैयामा ६ बजेसम्मका लागि निषेधाज्ञा जारी
वि.सं.२०८२ भदौ २७ शुक्रवार १२:५५

बारा–जिल्ला प्रशासन कार्यालय बाराले कलैया उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा जारी सूचनामा उल्लेख भएअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज बिहान ११ः०० बजेबाट साँझ ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार जारी गरिएको उक्त आदेशले सो अवधिभित्र सभा, जुलुस, प्रदर्शन तथा कुनै पनि प्रकारको भेला गर्न निषेध गरिएको छ । प्रशासनले आदेशको उल्लंघन गर्ने व्यक्तिहरूमाथि कानूनी कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा सञ्चालनमा भने कुनै रोक लगाइएको छैन। एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधन, कूटनीतिक नियोग तथा मानव अधिकारकर्मीका गाडी, पर्यटक सवारी साधन र हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने जनाइएको छ ।
प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षाको दृष्टिकोणले आदेशको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए ।
वि.सं.२०८२ भदौ २७ शुक्रवार १२:५५

















