skip this

बिदाको बिधि बिधान

591 shares
oil-nigam-amlekhgunj-adv.jpeg

माडी पुगेको तीन महिना बितिसकेको थियो । जागिरको सिलसिलामा चितवनको माडी नगरपालिका-३ स्थित माडी क्याम्पसमा आबद्ध भएपछि सुरुका केही दिन नयाँ ठाउँ, नयाँ मानिस र नयाँ परिवेशसँग परिचित हुनमै बिते । विस्तारै माडी मेरो लागि अपरिचित ठाउँ रहेन । क्याम्पस, सहकर्मी र स्थानीय समुदायसँग मेरो सम्बन्ध पनि सहज बन्दै गयो ।

माडीलाई मैले प्रकृतिले उदार भएर उपहार दिएको ठाउँका रूपमा पाएँ । नारायणगढको चौबीसकोठीबाट करिब चालीस किलोमिटरको यात्रामध्ये लामो दूरी संरक्षित वन क्षेत्र हुँदै अघि बढ्नुपर्थ्यो । बाटोका दुवैतिर उभिएका विशाल सालका रूखहरू, हरियाली र जंगलको शान्त वातावरणले यात्रालाई नै एउटा अनुपम अनुभव बनाइदिन्थ्यो ।

पहिलोपटक त्यो बाटो पार गर्दा म केवल यात्रु थिइनँ, प्रकृतिको खुला कक्षाकोठामा पढिरहेको विद्यार्थी झैँ महसुस गरिरहेको थिएँ । कतै हात्ती देखिन्थे, कतै एकसिङ्गे गैँडा, कतै मृगका झुण्ड। जंगलका ती दृश्यले मलाई एउटा कुरा सिकाइरहेका थिए-प्रकृति केवल हेर्ने वस्तु होइन, जीवन बुझ्ने पाठशाला पनि हो । तर त्यही सुन्दर जंगलका बीचमा माडीवासीको अर्को कथा पनि थियो ।

स्थानीय बासिन्दासँग चिया गफमा बस्दा उनीहरू विकास र यातायातका कठिनाइबारे कुरा गर्थे । वन क्षेत्र र संरक्षित क्षेत्रका कारण नारायणगढसँगको आवागमन सहज नभएको उनीहरूको गुनासो थियो । कतिपय ठाउँमा सडक कच्ची थियो । आकस्मिक बिरामी पर्दा अस्पताल पुर्‍याउनुपर्ने अवस्था होस् वा रातको समयमा कुनै आपत् आइपरोस्, यातायात सहज नहुनु उनीहरूको दैनिक चिन्ता थियो । वन्यजन्तुको आक्रमणमा मानिसले ज्यान गुमाएका घटनाका कुरा सुन्दा भने मन अझै भारी हुन्थ्यो ।

म सोच्थेँ-प्रकृतिको संरक्षण आवश्यक छ, तर मानिसको जीवन र सुरक्षाको प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । विकास र संरक्षणबीच सन्तुलन खोज्नु नै आधुनिक समाजको वास्तविक चुनौती रहेछ ।
तर मेरो आफ्नै जीवनमा त्यस जंगलभन्दा कठिन एउटा अर्को दूरी थियो, घर र माडीबीचको दूरी ।
माडी आउनुअघि घरबाट बाहिर बसेर काम गर्नु मेरो लागि सामान्य थियो । तर सानो छोराले मेरो अनुपस्थितिलाई सामान्य रूपमा स्वीकार्न सकेको थिएन ।

म घरबाट माडी फर्किने बेला ऊ बारम्बार सोध्थ्यो, “बाबा, तपाईं फेरि किन जानुपर्छ?” म मुस्कुराउँदै भन्थेँ, “बाबाले काम गर्नुपर्छ नि बाबु । छिट्टै राम्रो घर बनाउनुपर्छ । त्यसका लागि पैसा जम्मा गर्नुपर्छ ।” ऊ केही बेर चुप लाग्थ्यो । अनि फेरि सोध्थ्यो, “तर हामी सबै एउटै घरमा बसेका छौँ । तपाईं चाहिँ किन छुट्टै जानुपर्छ ?” त्यो प्रश्नको उत्तर मसँग हुन्थ्यो, तर उसको मनलाई बुझाउने उत्तर मसँग हुँदैनथ्यो । म उसलाई फकाउँदै भन्थेँ, “बाबा फर्किँदा तिम्रो लागि मिठो खानेकुरा ल्याउँछु ।” उसको अनुहार उज्यालो हुन्थ्यो ।

तर उसको मुस्कानभित्र लुकेको प्रश्न भने मेरो मनमा गडिरहन्थ्यो-बच्चालाई साँच्चिकै चाहिने कुरा मिठाई हो कि बाबाको साथ? म बिस्तारै बुझ्दै थिएँ-बालबालिकाका लागि अभिभावकको उपस्थितिको अर्थ केवल खाना, कपडा, पैसा वा उपहार होइन । उनीहरूलाई माया चाहिन्छ, सुरक्षा चाहिन्छ, सुन्ने कान चाहिन्छ र सबैभन्दा बढी आफ्ना मान्छेको साथ चाहिन्छ ।

घरबाट माडी आउने दिनहरूमा छोराहरू मलाई ढोकासम्म पुर्‍याउन आउँथे। म हिँड्न लाग्दा उनीहरूको अनुहारमा देखिने मौनता मेरो लागि कुनै भाषणभन्दा शक्तिशाली हुन्थ्यो । “बाबा, कहिले आउनुहुन्छ ?” “शनिबार ।” “पक्का?” “पक्का ।” त्यो ‘पक्का’ मेरो लागि सामान्य शब्द थिएन। त्यो एउटा जिम्मेवारी थियो । त्यसैले मैले क्याम्पसको बिदाको दिनलाई आफ्नो परिवारको दिन बनाउन थालेँ ।

माडीबाट घर पुग्ने यात्रा कहिलेकाहीँ थकाइलाग्दो हुन्थ्यो। तर घरको ढोकामा पुग्नेबित्तिकै सबै थकान हराउँथ्यो। म घर पुग्ने दिन छोराहरू नसुती मलाई कुरिरहेका हुन्थे । ढोका खुल्नेबित्तिकै आवाज आउँथ्यो-“बाबा आउनुभयो !” त्यसपछि मेरो झोला उनीहरूको नियन्त्रणमा पुग्थ्यो ।“बाबा, मेरो लागि के ल्याउनुभयो?” “मेरो के ?” “पहिले मलाई दिनुहोस् !” उनीहरूको संसारमा त्यतिबेला माडी, क्याम्पस, जंगल, बैठक, काम-सबै हराउँथे। संसारमा बाँकी रहन्थ्यो त केवल बाबा र छोराहरू । कहिलेकाहीँ उनीहरू दिनभरिका आफ्ना योजना सुनाउँथे ।

“बाबा आएपछि म उसलाई यस्तो भन्छु ।” “उसले मलाई हेपेको थियो, अब म त्यसलाई ठीक पार्छु ।”
म उनीहरूको कुरा सुन्दै हाँस्थेँ। उनीहरूको सानो संसारमा आफू कति ठूलो स्थानमा रहेछु भन्ने महसुस गर्थेँ ।

त्यतिबेला मलाई लाग्थ्यो-बच्चाको आँखामा बाबु कुनै पद, पैसा वा प्रतिष्ठाले ठूलो हुँदैन । बाबु त बाबु भएकै कारण ठूलो हुन्छ । एकदिन क्याम्पसमा शनिबार विद्यार्थीहरूका लागि पिकनिक आयोजना गर्ने कुरा चल्यो ।

सहकर्मीहरूले भने, “शनिबार राम्रो कार्यक्रम हुन्छ। सबै जना सहभागी हुनुपर्छ ।”
म पनि कार्यक्रमको जिम्मेवारीका बारेमा सोच्न थालेँ। तर त्यही क्षण मेरो मनमा अर्को शनिबारको तस्वीर आयो।

घरको ढोकामा उभिएको मेरो छोरा । उसको प्रश्न-“बाबा, शनिबार आउनुहुन्छ नि ?”
म केही क्षण मौन भएँ । पेशागत जिम्मेवारी एउटा पक्षमा थियो। परिवारको प्रतीक्षा अर्को पक्षमा।
मैले आफैँलाई प्रश्न गरेँ- जीवनमा सफल हुन हामी कति कुरा कमाउँछौँ, तर आफ्ना बच्चाको बाल्यकाल गुमाएर कमाएको सफलताको मूल्य के हुन्छ ? पैसा फेरि कमाउन सकिन्छ । पद फेरि प्राप्त गर्न सकिन्छ ।

घर पछि पनि बनाउन सकिन्छ । तर बच्चाको बितेको बाल्यकाल फेरि फर्केर आउँदैन ।
छोराले आज बाबालाई पर्खिरहेको छ भने त्यो प्रतीक्षा केही वर्षपछि नहुन सक्छ। आज ऊ बाबासँग खेल्न चाहन्छ; भोलि ऊ आफ्नै संसारमा व्यस्त हुनेछ । त्यसैले मैले एउटा कुरा गहिरोसँग बुझेँ- परिवारसँग बिताएको समय जीवनको खाली समय होइन; त्यो जीवनको सबैभन्दा मूल्यवान समय हो । क्याम्पसमा विद्यार्थीलाई शिक्षा दिने मेरो जिम्मेवारी छ । तर घरमा आफ्ना बच्चालाई प्रेम, समय र उपस्थितिको शिक्षा दिनु पनि त्यत्तिकै ठूलो जिम्मेवारी हो ।

शिक्षाले केवल पाठ्यपुस्तक पढाउँदैन । शिक्षा त व्यवहारबाट पनि सिकिन्छ। बच्चाले बाबुले कसरी काम गर्छन् भन्ने मात्र होइन, बाबुले परिवारलाई कति समय दिन्छन्, आमाबाबुले एकअर्कालाई कसरी सम्मान गर्छन् र कठिन परिस्थितिमा सम्बन्धलाई कसरी जोगाउँछन् भन्ने कुरा पनि सिकिरहेको हुन्छ । त्यस दिन मैले बिदालाई नयाँ अर्थ दिएँ ।

बिदा भनेको कामबाट छुट्टी मात्र होइन, आफ्ना मान्छेहरूसँग पुनः जोडिने अवसर पनि रहेछ ।
माडीको जंगलले मलाई प्रकृतिको संरक्षण सिकायो । क्याम्पसले मलाई पेशागत जिम्मेवारी सिकायो। तर मेरो छोराको प्रतीक्षाले मलाई जीवनको सबैभन्दा ठूलो पाठ सिकायो- मानिसले संसार जिते पनि आफ्ना बच्चाको आँखामा आफूलाई गुमायो भने त्यो जित अधुरो हुन्छ । साँझ घर फर्कँदा छोराले फेरि सोध्यो, “बाबा, भोलि पनि बस्नुहुन्छ?” मैले उसको टाउको सुम्सुम्याउँदै भनेँ, “हो बाबु, भोलि पनि बस्छु ।”

ऊ मुस्कुरायो र मेरो काखमा टाँसियो । त्यो क्षणमा मलाई लाग्यो-माडीको सुन्दर जंगल, क्याम्पसको जिम्मेवारी, भविष्यको घर, पैसा, पद र प्रतिष्ठा सबै आफ्नै ठाउँमा छन् । तर आफ्नो बच्चाले प्रेमपूर्वक अँगालो हाल्दा प्राप्त हुने सन्तुष्टिको अगाडि संसारका अरू सबै उपलब्धिहरू फिक्का लाग्दा रहेछन् । त्यसैले आज पनि म बिदाको दिनलाई केवल ‘छुट्टी’ भन्दिनँ । म त्यसलाई -“परिवारको दिन भन्छु ।” किनकि घर भनेको केवल बस्ने ठाउँ होइन ।

घर भनेको प्रतीक्षा गर्ने आँखा, अँगालो हाल्ने हात र फर्केर आउँदा खुशी हुने मुटुहरूको संसार हो । र त्यो संसारभन्दा ठूलो संसार सायद अरू कुनै छैन । मेरो बिदाको बिधि विधान यही हो, कर्तव्यले जहाँ पुर्‍याए पनि, मन भने चराले आफ्नो गुँड खोजेझैँ घरतिर फर्किरहोस्; किनकि सन्तानको मुस्कान बिहानको सुनौलो किरणझैँ र परिवारको न्यानो काख जीवनको थकाइ बिसाउने छहारीझैँ हो ।

-लेखक भट्टराई (T.R. Bhattarai) त्रिभुवन विश्वविद्यालयको Graduate School of Education (GSE) मा विद्यावारिधि शोधार्थी हुनुहुन्छ। उहाँ तिनपाटन क्याम्पस, सिन्धुली र गौरीशंकर क्याम्पस, निजगढका पूर्व क्याम्पस प्रमुख तथा नेपाल पुलिस स्कुल, रौतहटका पूर्व प्राचार्य हुनुहुन्छ। हाल उहाँ माडी क्याम्पस, बागमती विश्वविद्यालयमा प्राध्यापनसँगै अनुसन्धानमा सक्रिय हुनुहुन्छ ।
उहाँ NELTA का आजीवन सदस्य, Universal Peace Federation नेपालका Peace Ambassador तथा Youth for Human Rights Nepal सँग आबद्ध मानवअधिकार अभियन्ताका रूपमा शिक्षा, शान्ति र नागरिक सचेतनाका क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।

nijgadh-supermart-adz1200-630