होली एन्जल्सका विद्यार्थीको मनकारी मनः खाजा खर्च कटाएर बाढीपीडितलाई सहयोग
वि.सं.२०८३ भदौ २२ सोमवार २१:१२

निजगढ–रसुवालगायत विभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि निजगढ–९ स्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आर्थिक सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीले आफ्नो दैनिक खाजा खर्चबाट रु. ५ देखि ५ सयसम्म रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरेका हुन् । विद्यार्थीहरूले संकलन गरेको रु. ४० हजार ६ सय रकम विद्यालयका प्रिन्सिपल नारायण शर्मालाई हस्तान्तरण गरेका छन् ।
बाढीपहिरोबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विद्यालय परिसरमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । साथै मृतकको आत्माको शान्तिको कामना गर्दै विद्यार्थी तथा विद्यालय परिवारले एक मिनेट मौन धारण गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा रविना तिमल्सिनाले विपद्को समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । उनले विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर गरेको सहयोगले मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको बताइन् ।
विद्यालयका प्रिन्सिपल नारायण शर्माका अनुसार विद्यालयले संस्थागत रूपमा यसअघि नै एक लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकेको छ । विद्यार्थी, आमा समूह, रेडक्रसकर्मी तथा विभिन्न संघसंस्थाबाट संकलित एक लाख रुपैयाँभन्दा बढी रकमबाट प्रभावित क्षेत्रमा आवश्यक सामग्री खरिद गरी हस्तान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए ।
शर्माका अनुसार मनकामना आमा समूह, निजगढ–९ बाट रु. १५ हजार ५ सय ५५, रेडक्रसकर्मीबाट रु. ४६ हजार ५ सय ५० र अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रु. १५ हजार सहयोग रकम संकलन भएको छ ।
विपद्को समयमा विद्यालयका विद्यार्थी, शिक्षक तथा विभिन्न सामाजिक संस्थाले आफ्नो क्षमता अनुसार सहयोग जुटाउँदै आएका छन् । विद्यार्थीहरूले खाजा खर्च कटाएर गरेको सहयोगले मानवीय सेवाप्रतिको जिम्मेवारी र सामाजिक संवेदनशीलताको सकारात्मक सन्देश दिएको छ ।
वि.सं.२०८३ भदौ २२ सोमवार २१:१२

















