हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने
वि.सं.२०७९ साउन १७ मंगलवार २०:५२

झापा-भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा (सोलार फेन्सिङ) मर्मतसम्भार गरिने भएको छ ।
नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका लागि परिचालित कर्मचारीको पारिश्रमिकका लागि रु ३० लाख बजेट छुट्याएपछि हात्तीको उपद्रो रोकिने आशा पलाएको हो । आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नगर विकास योजनामै पालिकाले रु २० लाख विद्युतीय घेराबारा मर्मतसम्भारका लागि र कर्मचारीको पारिश्रमिकका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।
विसंं २०७२ मा बाहुनडाँगीको तिरिङदेखि नकलबन्दासम्म १८ किलोमिटर विद्युतीय तारबार निर्माण भएको थियो । विद्युतीय तारबारले हात्तीको प्रवेश रोक्न सफलता मिले तापनि एक वर्षयता तारबार जीर्ण भएकाले हात्ती नेपालतिर प्रवेश गर्ने क्रम पुनः सुरु भएको छ । तारबार भत्किएपछि भारतबाट दिनहुँ सयको सङ्ख्यामा हुल बाँधेर जङ्गली हात्ती चरनका लागि नेपाल आउने गरेका छन् । सात वर्षपछि बल्झिएको समस्याले हात्ती प्रभावित झापाका अधिकांश पालिकामा त्रासको स्थिति छ ।
हात्तीको उपद्रोबाट सबैभन्दा बढी मेचीनगरकै वडा नं १, २, ३ र ४ का बासिन्दा प्रताडित छन् । हात्तीको आक्रमणमा परी मानवीय क्षति हुन थालेको छ भने धान, मकै, तरकारीलगायतका बाली खाएर र कुल्चिएर सखाप पारेको छ । पालिकाले विपद् व्यवस्थापन शीर्षकमा छुट्याएको रु ७५ लाख बजेटमध्येबाट रु ३० लाख रकम हात्ती रोक्नका लागि छुट्याएको हो । एक दशकअघि प्रकृति संरक्षण कोषले बाहुनडाँगीको मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चमार्फत तत्कालीन समयमा विद्युतीय तारबारको मर्मतसम्भार र कर्मचारीका लागि भनेर रु ३० लाखको अक्षयकोषसमेत स्थापना गरिदिएको थियो । उक्त कोषको ब्याजले खर्च धान्न छाडेको अवस्था छ ।
वि.सं.२०७९ साउन १७ मंगलवार २०:५२

















