skip this farak Kura Pravakar

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलद्वारा कारबाहीको माग

522 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको एक फोटो र त्यससँग जोडिएको विवादास्पद सामग्रीका विषयमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्। उनले उक्त विषयमा नेपाल प्रहरीको साइबर ब्यूरो प्रमुख, मधेस प्रदेश प्रहरी प्रमुख, बारा जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालय सिमराका प्रमुखलाई समेत टेलिफोन र ह्वाट्सएपमार्फत जानकारी गराइसकेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी निकट राजकुमार यादवले सामाजिक सञ्जालमा मेयर राजन पौडेलसँग कुकुर एउटै थालमा खाना खाइरहेको तस्बिर फैलाइएको पोस्ट गरेका थिए । उक्त पोस्टमा मेयर राजन पौडेललाई जोड्ने प्रयास गरिएको भन्दै उनले आपत्ति जनाएका छन्। पौडेलले आफू उक्त व्यक्तिलाई नचिन्ने दाबी गर्दै फोटोमा देखिएका चिनिएका व्यक्तिहरूले वास्तविकता सार्वजनिक गरिदिन आग्रह गरेका थिए।

मेयर पौडेलले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै भनेका छन्, “साइबर ब्यूरोमा उजुरी गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरो प्रमुख, मधेस प्रहरी प्रमुख, बारा जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी सिमरा प्रमुखलाई समेत टेलिफोन र ह्वाट्सएपमार्फत जानकारी गराएको छु। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट एकबद्धता प्रकट गर्नुहुने सबैलाई धन्यवाद। कारबाही होस्। म चिन्दिनँ, तर चिनिएकासँग एउटै फ्रेममा भएकाहरूले मलाई चिनाइदिनुस्।”

उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्यक्तिको चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाएका छन्। साथै, तथ्यहीन र भ्रामक सामग्री फैलाउनेमाथि कानुनी कारबाही हुनुपर्ने माग पनि गरेका छन्।

यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले अभिव्यक्ति स्वतन्त्रताको नाममा चरित्रहत्या गर्न नहुने बताएका छन् भने केहीले पोस्टको सत्यताबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले उजुरी प्राप्त भएको विषयमा आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।

nijgadh-supermart-adz1200-630