काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र र नेपालको जलमाफियाको आरोप लाग्ने गरेका अपी हाईड्रोपावरका संचालक गुरुप्रसाद न्यौपानेले सार्वजनिक स्वामित्वको मौनेखोला जलविद्युत् कब्जा गर्न विभिन्न हतकण्डा अपनाएको खुलासा भएको छ।
दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको वडा नम्बर ६ साविक धुलिगाडा गाविसको धुलिगाडामा रहेको मौने खोला जलविद्युत् कब्जा गर्न गुरुप्रसाद न्यौपानेले मौनेखोला जलविद्युत् परियोजनाको उपभोक्ता तथा शिक्षक बुद्धिजीवीहरुलाई आर्थिक प्रलोभनमा पारेर जनताको लघु जलविद्युतलाई कब्जा गर्न सुचनासमेत प्रकाशन गरेको भेटिएको छ ।
देशैभरी जलमाफिया भनेर आरोप लाग्ने गरेका गुरुप्रसाद न्यौपानेले करिब एक करोड ८६ लाख बढी लागत रहेको मौनेखोला जलविद्युत्लाई कब्जा गर्न जलविद्युत् परियोजनाको उपभोक्ता तथा शिक्षक बुद्धिजीवीहरुलाई हस्ताक्षरसमेत गराईसकेका छन् ।
गुरुप्रसाद न्यौपानेका छोरा संजिव न्यौपानेले मिति २०७२ साल बैशाख ३० गते मौनेखोला जलविद्युत् परियोजनाको उपभोक्ता तथा शिक्षक बुद्धिजीवी र सरकारी कर्मचारीहरुलाई विभिन्न प्रलोभन देखाई लघु जलविद्युत्लाई आफ्नो स्वामित्वमा लिन हस्ताक्षर गराएको भेटिएको छ ।
स्थानीयबासीका अनुसार संजीव न्यौपानेले मौनेखोला जलविद्युत् परियोजनाको उपभोक्ता तथा शिक्षक बुद्धिजीवीहरुलाई मोटो रकम घुस दिएर हस्ताक्षर गराएका हुन् ।
धुलिगाडाका एक स्थानीय भन्छन्, मौनेखोला जलविद्युत् परियोजनाको उपभोक्ता तथा शिक्षक बुद्धिजीवीहरुले सार्वजनिक सम्पत्तिलाई जल माफिया न्यौपानेलाई सुम्पनुको एक मात्र कारण मोटो रकमको घुस नै हो । उनी अगाडी भन्छन्, यो विद्युत् निर्माण गर्न प्रत्येक घरधुरीले करिब दश लाख चन्दा उठाएका छौँ ।
त्यती मात्र होईन, प्रत्येक घर परिवारले करिब ४ महिना श्रम दान गरेका छौँ । तर अन्तिममा उपभोक्ता समितिका अध्यक्ष शेरसिंह धामीलगायतले मोटो रकम पचाएपछि सार्वजनिक स्वामित्वको मौने खोला लघु जलविद्युत्लाई जलमाफिया न्यौपानेलाई सुम्पिन न्यौपानेको षड्यन्त्रमा लाहा छाप लगाएका छन् ।
त्यस्तै रैचीका एक स्थानीय भन्छन्, संजीव न्यौपानेबाट मैले पनि अलिअलि आर्थिक सहयोग पाएकै हो । तर मैलेभन्दा पनि राजनीतिक पार्टीका स्थानीय नेताहरु र टाठाबाठा कर्मचारी, शिक्षकहरुले भने मोटो रकम नै लिएरै मौने खोला जलविद्युत्लाई गुरुप्रसाद न्यौपानेको स्वामित्वमा दिन हस्ताक्षर गरेको मौने खोला लघु जलविद्युत् परियोजनाका पूर्वअध्यक्ष नरसिंह ठगुन्नाले हामीसँग पटक पटक कुरा गरेका छन् ।
त्यस्तै उनी भन्छन्, जनताको सम्पत्तिलाई जलमाफियाको हातमा पार्न मैले पनि हस्ताक्षर गरेर गलत गरेकी भन्ने लाग्छ तर समय गईसकेपछि पलाएको बुद्धिको के काम नाम नबताउने शर्तमा ती स्थानीय भन्छन्, कृपया मेरो नाम सार्वजनिक नगरि दिनु होला नत्र गुरुप्रसादले मेरो उठिबास लगाउन सक्छ । प्रहरी, कर्मचारी, शिक्षक र वकिलहरुलाईसमेत आर्थिक प्रभावमा पार्ने गर्दछन् ।
यदि मेरो नाम बाहिर आए ज्यानै खतरामा पर्न सक्छ तर हिजो सानो रकम घुस लिएर मैले हस्ताक्षर गरेको सम्झिदा अहिले पछुतो लाग्छ । मैले मेरो भावी सन्ततीमाथि अन्याय गरेको छु भन्ने पछुतोले पोलिरहन्छ ।
त्यो मेरो हस्ताक्षरले जलमाफिया न्यौपानेलाई मालामाल हुने र जनताले विद्युत् नपाउने स्थिति आएको छ ।
त्यस्तै अर्का खेडाका एक स्थानीय भन्छन्, पूर्व गाविस सचिव कुलनारायण चौधरीले पनि लघु जलविद्युत्लाई जलमाफिया न्यौपानेलाई दिन करिब ५ लाख बढी रकम लिईसकेको मैले नै थाहा पाएको छु तर प्रमाण छैन । प्रमाण नहुदा बाहिर बोल्ने कुरा पनि भएन । त्यस्तै उनी भन्छन्, गाविस सचिवसँगै गाविसका प्राविधिक रमेशराज भट्टले पनि गुलियो चाटिसकेका छन् ।
*फरक नेपाल डटकम निरन्तर फलोअफमा छ ।








