skip this

निकुञ्ज अतिक्रमण गरेको भन्दै चेपाङका घरगोठ जलाइए

2.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ ।

निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो ।​

स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको हो ।

स्थानीयले बताएअनुसार करिब १५ घरमा आगजनी भएको माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बताए । आगजनीपछि मेयर ढकालसहितको टोली आगजनी भएको स्थानमा निरीक्षणका लागि गएको थियो ।

कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको कोर इलाकामा बसोबास गरेका मान्छेलाई पटक-पटक नबस्न आग्रह गर्दा पनि नयाँ घरगोठ बनाउने क्रम नरोकिएपछि आगजनी भएको बताउँछन् । घटनाको आधिकारीक जानकारी हेडक्वार्टरमा नआएको उनले बताए ।

निकुञ्जले यसअघि ३ साउन २०७७ मा पनि कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङका दुई घरमा आगजनी र आठ हात्ती लगाएर भत्काएको थियो । त्यसपछि माडी नगरपालिकासँगको समन्वयमा कुसुमखोलाका चेपाङलाइ स्थानान्तरण गरिएको थियो ।

nijgadh-supermart-adz1200-630