बारामा गहुँ उत्पादनमा वृद्धि
वि.सं.२०७८ चैत २७ आइतवार १३:०३

बारा । बारा जिल्लामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । यस वर्ष जिल्लाका किसानहरुले प्रति हेक्टर ३ मेट्रिक टनको दरले गहुँ उत्पादन गरेको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।
जिल्लाको २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको र सोबाट कूल ८९ हजार १ सय मेट्रिक टन उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले बताए ।
जिल्लामा किसानहरुले भृकुटी, आदित्य, नेपाल ९७१, २९७, डब्लु १४०४ प्रजातिको बीउबाट गहुँ खेती गरेका थिए ।
नगदेबाली मात्रै नभइ परम्परागत खेतीमा पनि अब्बल मानिएको सर्लाही जिल्लाको एक्का दुक्का ठाउँ बाहेक हरेक क्षेत्रमा गहुँको खेती हुने गरेको छ ।
समयमा वर्षा भएको गत बर्षको तुलनामा यस बर्ष उत्पादकत्वमा वृद्धि भएको प्रमुख यादवले बताए । जिल्लामा उत्पादित गहुँ कलैया बजारमा प्रति क्विन्टल ३ हजारको दरले बिक्री भइरहेको छ ।
गत बर्ष कृषकहरुले विभिन्न जातको गहुँ कूल २९ हजार ५ सय हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर २ दशमलव ८ मेट्रिकटन उत्पादन गरी कूल ८२ हजार ६ सय मेट्रिकटन गहुँ उत्पादन गरेका थिए ।
गहुँमा अनिवार्य दुई पटक सिँचाई गर्नु पर्ने भएकोले सरकारले सिँचाईको बन्दोवस्त गर्न सके जिल्लामा रेकर्ड गहुँ उत्पादन हुन सक्ने सम्भावना किसानहरु बताउँछन् ।
यता प्रमुख यादवले पनि बीउ बिजनको अभाव तथा सिँचाईको अभावले किसानहरुलाई खेती गर्न विभिन्न प्रकारको समस्याहरु भोग्नु पर्ने बाध्यता रहेको बताए ।
वि.सं.२०७८ चैत २७ आइतवार १३:०३


















