बेलायतको दाबी – युक्रेनमा रुस समर्थक राष्ट्रपति चाहन्छन् पुटिन
वि.सं.२०७८ माघ ९ आइतवार १०:२६

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुस समर्थित राष्ट्रपति तैनाथ गर्न चाहेको बेलायतले आरोप लगाएको छ ।
बेलायती विदेश मन्त्रालयले एक असामान्य कदम उठाउँदै युक्रेनका पूर्व सांसद येवेन मरायेवलाई रुसको एक सम्भावित उम्मेदवार बताएको छ ।
रुसले युक्रेनी सीमामा आफ्नो एक लाखभन्दा बढी जवान तैनाथ गरेको छ र रुसले युक्रेनमा हमला गर्न लागेको हल्लालाई अफवाहको संज्ञा दिएको छ ।
बेलायतका मन्त्रीले यदि हमला गरियो भने रुसी सरकारले यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
एक बयानमा बेलायतकी विदेशमन्त्री लिज ट्रसले भनेकी छिन्, ‘आज जारी गरिएको सूचना युक्रेनलाई उल्टाउनका लागि डिजाइन गरिएको रुसी गतिविधिलाई देखाउँछ र यसले क्रेमलिनको सोचमाथि प्रकाश पार्छ ।’
‘रुस पछि हट्नुपर्छ र आक्रामकता र दुष्प्रचारको आफ्नो अभियानलाई समाप्त गर्नुपर्छ र कूटनीतिको बाटो अपनाउनु पर्छ ।’’
सन् २०१४ मा रुसले युक्रेनी क्षेत्र क्रिमियामाथि कब्जा गरेको थियो, त्यसपछि युक्रेनले रुस समर्थक राष्ट्रपतिलाई हटाइदिएको थियो ।
को हुन् मुरायेवः
पेशाले मिडिया व्यवसायी मुरायेव सन् २०१९ को चुनावमा युक्रेनी संसदको चुनाव हारेको थियो र उनको पार्टीले ५ प्रतिशत भोट पनि ल्याउन सकेको थिएन ।
बेलायतले उनलाई रुस समर्थित उम्मेदवार बताउँदा उनले विदेश मन्त्रालय केही भ्रममा देखिएको बताएका थिए ।
‘यो खासै तार्किक होइन । रुसले मलाई प्रतिबन्ध गरेको छ । यतिमात्रै होइन उनले मेरा पिताको फर्म पनि जफत गरेको छ ।’
बेलायतको विदेश मन्त्रालयले चार थप अन्य युक्रेनी राजनेताको नाम बताएको छ जो रुसी गुप्तचर एजेन्सीको सम्पर्कमा छ ।
वि.सं.२०७८ माघ ९ आइतवार १०:२६
















