काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाख बजेट
वि.सं.२०७९ असार १० शुक्रवार १६:३२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । बजेटमध्ये ११ अर्ब ८ करोड ८९ लाख ३ हजार रुपैयाँ पूर्वाधार निर्माण गर्न छुट्याइएको विकास बजेट हो ।यस्तो बजेट कुल बजेटको ४९.५७ प्रतिशत रहेको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताएकी छन् ।
महानगरपालिकाको ११ औं नगरसभा अधिवेशनबाट आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको हो ।संवैधानिक व्यवस्था अनुसार १० असारभित्र वर्षेनी सबै स्थानीय तहले बजेट ल्याउनुपर्छ । सोही व्यवस्था अनुसार १५ जेठमा संघको र १ असारमा प्रदेशको बजेट आइसकेको छ ।
महानगरको आगामी आवको बजेटमा संचित कोषमा २२ अर्ब ३६ करोड रुपैयाँ व्यहोर्ने भएको छ भने संघीय सरकारले दिने ३ अर्ब रुपैयाँलाई समेटेर आगामी आवको बजेट तय गरिएको छ ।यस्तो रकममध्ये कार्यालय सञ्चालनका लागि ४ अर्ब रुपैयाँ खर्च हुने भएको छ । महानगरले आगामी आवमा २२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरले चालू आवका लागि भने १६ अर्ब २६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
वि.सं.२०७९ असार १० शुक्रवार १६:३२
















