संसद भवन परिसरदेखि माइतीघरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ
वि.सं.२०७८ फागुन ६ शुक्रवार १२:२१

काठमाडौँ । सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।
शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।
बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सक्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ अरु चार दलको अडान छुट्टाछुट्टै छन् ।
यसैबीच आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धन दलबीच बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदमा पेश नहुने भएको हो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।
‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं,’ नेपालले भने,‘प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’ नेपालका अनुसार फेरि ८ गते बैठक बस्नेछ ।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १२:२१
















