८३ किलो गाँजा तस्करीको आरोपमा टाँगियावस्तिका रुम्बा पक्राउ, निर्दोषलाई फसाउन खोजेको परिवारको आरोप

वि.सं.२०७८ असोज १० आइतवार ०९:२३

निजगढ : ईलाका प्रहरी कार्यालय निजगढले ८३ किलो गाँजा तस्करीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीका ४१ वर्षीय रुकबहादुर रुम्बा छन् । प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको बा ३७ प ९६८१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार बाराको रतनपुरतर्फबाट पिड्युमा बोराभित्र राखेको गाँजा बोकेर पूर्व–पश्चिम राजमार्गबाट काँटघाट मन्दीरको बाटो हुदै दक्षिणतर्फ जादै गरेको अवस्थामा रुम्बालाई पक्राउ गरिएको हो ।
गस्तिमा रहेको प्रहरी टोलीले सडक छेउमा मोटरसाइकल रोकेर राखिएको देखेपछि निगरानी बढाउदै जाँदा गाँजासहित रुम्बा पक्राउ परेका प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । प्रहरी टोलीलाई देखेपछि जंगलभित्रबाट आउदै गरेको तस्कर समूहका अन्य भने फरार बनेको प्रहरीले बताएको छ । समूहमा ५/६ जना तस्करहरु रहेको पनि ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
गाँजा छाडेर भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।
निर्दोषलाई फसाउन खोजेको आरोप
प्रहरीले गाँजा तस्कर भनेर सार्वजनिक गरेको रुम्बाका परिवारले निर्दोष व्यक्तिलाई फसाउन खोजेको गुनासो गरेका छन् । बाटो हिडेको निर्दोष व्यक्तिलाई प्रहरीले शंकाको आधारमा पक्राउ गरेर मुद्दा चलाएको आरोप छ । स्थानीयले प्रहरी कार्यालयमा पुगेर निर्दोष रुम्बालाई रिहा गर्न माग गरेका छन् ।

वि.सं.२०७८ असोज १० आइतवार ०९:२३