गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ : गृहमन्त्री खाँण
वि.सं.२०७८ कात्तिक १ सोमवार २०:०४

बुटवल : गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।
रुपन्देही आएका गृहमन्त्री खाँणले सरकारले विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि बढाएर शीघ्र सञ्चालनको तयारी गरिरहेको बताएका हुन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार जाँच चौकीको विकासका लागि कार्ययोजना तयार पारेको पनि जानकारी दिए ।
‘विमानस्थल सञ्चालन र एकीकृत जाँच चौकी कार्ययोजना सरकारले तयार पारेको छ, अब कार्ययोजनाअनुसार काम अगाडि बढ्छ,’ उनले भने ।
उनले रुपन्देहीको विकासका लागि प्रयत्नशील रहेको पनि बताए । बेलहिया नाकालाई व्यवस्थित बनाउन अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूलाई आग्रह र छलफल गरेको मन्त्री खाँणले बताए । भैरहवा भन्सारमा रहेको पार्किङ समस्याले असहजता भएको र यसको समाधानका लागि अल्पकालीन र दीर्घकालीन परियोजना आवश्यक रहेकोले सोही अनुसार अगाडि बढेको बताए ।
वि.सं.२०७८ कात्तिक १ सोमवार २०:०४
















