‘मोर्चाको गति कम भयो, अब प्रभावकारी बनाइन्छ’ – समाजवादी नेताहरूको निष्कर्ष
वि.सं.२०८२ साउन १३ मंगलवार २२:३७

काठमाडौं-समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता–कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको स्वीकार गर्दै अब सुदृढ र प्रभावकारी ढंगले अघि बढ्ने निष्कर्ष निकालेको छ।
मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले मोर्चाले अपेक्षाअनुसार गति लिन नसकेको स्वीकार गर्दै संगठनलाई निर्ममतापूर्वक सुधार गर्दै अघि बढाइने जानकारी दिए ।
“मोर्चाले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरूको षड्यन्त्र असफल पार्न सफल भयो, तर गति कम देखियो । अब यसलाई सुदृढ गर्दै अघि बढाउने निष्कर्षमा पुगेका छौं,” प्रवक्ता विश्वकर्माले भने । उनका अनुसार मोर्चाले समाजवादी विचारधारा भएका दलबीच कार्यगत एकता गर्दै संगठनलाई थप प्रभावकारी बनाउन छलफल अघि बढाउने छ ।
बैठकले सातै प्रदेशमा कार्यक्रम गरी सरकारलाई खबरदारी गर्ने, देशव्यापी भ्रष्टाचार र बेथितिविरुद्ध छिट्टै सडक आन्दोलन गर्ने र विचार मिल्ने शक्तिहरूलाई मोर्चामा आवद्ध गराउने निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, नेता वामदेव गौतम, घनश्याम भुसाल, प्रमेश हमाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ र कृष्णबहादुर महरा सहभागी थिए। बैठक मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा सम्पन्न भएको हो ।
वि.सं.२०८२ साउन १३ मंगलवार २२:३७
















