निजगढको बकैया छठघाट बेहुलीझैँ सिँगारियो (फोटोफिचर)
वि.सं.२०८३ कात्तिक २८ शनिवार २२:२०

बारा-यमपञ्चक अर्थात् तिहार सकिएलगत्तै छठ पर्वको रौनक सुरु भएको छ । बाराको निजगढ नगरपालिका–८ स्थित खयरघारी बकैया नदी किनारमा छठ पूजाका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पर्वलाई लक्षित गर्दै बकैया नदी किनारको छठघाटलाई आकर्षक रूपमा सजाइएको छ । पूजास्थलमा झिलिमिली बत्ती जडान गर्नुका साथै आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । टेन्ट राख्ने तथा बत्ती जडान गर्ने काम लगभग सम्पन्न भएसँगै छठघाटको करिब ९० प्रतिशत तयारी पूरा भएको निजगढ छठ पूजा समितिका अध्यक्ष साहले जानकारी दिएका छन् ।

छठ पूजाका लागि भोलि बिहान पोखरी तथा घाट क्षेत्रको अन्तिम सरसफाइ गरिने कार्यक्रम रहेको छ । सरसफाइ अभियानमा सहभागी हुन समितिका अध्यक्ष साहले श्रद्धालु तथा स्थानीयवासीलाई आग्रह गरेका छन् ।
यस वर्ष बकैया छठघाटमा पाँच हजारभन्दा बढी श्रद्धालु तथा दर्शनार्थीको सहभागिता रहने अनुमान गरिएको छ । त्यस्तै, पाँच सयभन्दा बढी व्रतालुका लागि घाटमा पूजा तथा व्रत बस्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
छठ पर्व नजिकिएसँगै बकैया नदी किनारमा चहलपहल बढेको छ भने स्थानीयवासी तथा श्रद्धालुहरू पूजाको प्रतीक्षामा रहेका छन् ।

वि.सं.२०८३ कात्तिक २८ शनिवार २२:२०

















