विश्वासको मत लिनुअघि नै मुख्यमन्त्री यादवले सदनबाट दिए राजीनामा
वि.सं.२०८३ कात्तिक २८ शनिवार १५:५३

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले राजीनामाको बाटो रोजेका हुन्। सम्बोधनका क्रममा उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो भएको उल्लेख गर्दै पदमा रहिरहनुभन्दा नैतिक जिम्मेवारी निर्वाह गर्नु उचित ठानेको बताए।
सत्ता समीकरणमा आएको फेरबदलसँगै यादव नेतृत्वको सरकार संकटमा परेको थियो। असोज ३० गते नेकपा एमालेले आफ्ना चार मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्रीमाथि थियो। तर, प्रदेशसभामा आवश्यक समर्थन जुटाउन नसक्ने अवस्था देखिएपछि उनले विश्वासको मतको प्रक्रियामा जानुभन्दा राजीनामा दिनु उपयुक्त ठानेका हुन्।
हाल १०२ सदस्य कायम रहेको मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
यसअघि जसपा नेपाल, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने प्रयास भएको थियो। जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्ने विषयमा दलहरूबीच छलफल भए पनि जसपाभित्रै मुख्यमन्त्रीको दाबेदारीलाई लिएर आन्तरिक विवाद देखिएको छ।
उता, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन्। जसका कारण मधेश प्रदेशमा नयाँ सरकार गठनको समीकरण अझै स्पष्ट हुन सकेको छैन।
मुख्यमन्त्रीको राजीनामासँगै अब मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्ने अपेक्षा गरिएको छ।
**मुख्यमन्त्रीको राजीनामासँगै मधेश प्रदेशको सत्ता राजनीति फेरि नयाँ मोडमा पुगेको छ।**
वि.सं.२०८३ कात्तिक २८ शनिवार १५:५३

















