निजगढ विमानस्थल निर्माणमा नेता नेपालको निरन्तर चासो : पर्यटन र वन मन्त्री लिएर पुगे टांगियाबस्ती
वि.सं.२०७८ फागुन ३ मंगलवार १९:१८

बारा । बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा सुरु भएको तीन दशक बढी भइसकेको छ ।
नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सर्भिसेसले २०५१ मा गरेको अध्ययन र कोरियन कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले २०६५ गरेको सम्भाव्यता अध्ययन पछि थप चर्चामा पुगेको निजगढ विमानस्थल निर्माणले गति लिन सकेको छैन् ।
८ हजार ४५ हेक्टर क्षेत्रफल ओगट्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा विमानस्थल योजनाको आधारभूत कार्यमै वर्षौ वितिसक्यो । हरेक सरकारले विमानस्थललाई मूल मुद्दा बनाएपनि कार्यान्वयन पक्ष फितलो बन्दा पूर्वतयारीका केही कामबाहेक अन्य प्रक्रिया अघि बढ्न सकेको छैन ।
आयोजना आव २०७०/०७१ सुरु भई २०८५/८६ मा सम्पन्न गर्ने समयसीमा तोकिएको छ । तर, अहिले पूर्वतयारीको कामसमेत सकिएको छैन । लगानीको मोडालिटी नै तय हुन सकेको छैन् ।
विमानस्थल निर्माणका लागि प्रस्ताव गरिएको बाराको जितपुरसिमरा उपमहानगरपालिकाको टाँगियाबस्ती, कोल्हबी नगरपालिकाको काँटगाउँ र करैयामाइ गाउँपालिकाको ककडी क्षेत्रमा यतिबेला पूर्वतयारीका काम भएका छन्। त्यसका लागि चार किल्ला, तारघेरा, नदी नियन्त्रणका लागि तटबन्ध र मुआब्जाको काम भइरहेका छन् । तर, विमानस्थल निर्माणका लागि मुख्य २ ठूला समस्याका रूपमा देखिएको रूख कटान र टाँगिया बस्तीको व्यवस्थापन हो ।
माधव नेपालको चासो
पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत पार्टीका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहट हो । उनले विमानस्थल निर्माणको लागि निरन्तर चासो राख्दै आएका छन् । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमान स्थल निर्माण गर्न आफुले निरन्तर पहल गर्दै आएको बताउँछन् ।
प्रस्तावित विमानस्थल क्षेत्रको निरीक्षण गर्न नेता नेपाल मंगलबार टागियावस्ति आइपुगेका छन् । नेता नेपालसंगै संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले र वन तथा वातावरण मन्त्री रामसहाय यादव र नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागि थिए । वन मन्त्री यादबको बारा गृह जिल्ला पनि हो ।
नेता नेपालले २०५२ सालदेखि नै आफु निजगढ विमानस्थल संग जोडिएको बताए । उनले आफू प्रधानमन्त्री हुदा र त्यसअघि र पछि पनि विमानस्थल निर्माण गर्न लागिपरेको बताए । उनले आफूले निरन्तर पहल गरिरहेको भएपनि संतोषजनक प्रगति भने नभएको बताए । उनले टागियावस्ति स्थानन्तरण गर्ने क्रममा धेरै ठुला कुरा नराख्न पनि स्थानीयसंग आग्रह गरे । पुरा गर्न नसकिने माग राख्नु भयो भने आयोजनामा अन्यौल बढने र अन्तै जानसक्ने उनको भनाइ छ ।
केहि समयअघि निजगढमा नेता नेपालले आफुले जस लिने डरका कारण विमानस्थल बनाउन केपी ओली नेतृत्वको सरकारले चासो नदिएको आरोप लगाएका थिए । उनले अब अनुकुल वातारण बनेको बताएका थिए । पर्यटन मन्त्री आले उनले नेतृत्व गरेको पार्टीका हुन् । मन्त्री आलेले केहि दिनअघि विमानस्थलबारे सर्वदलिय बैठक राखेका थिए ।

नेता नेपालले कार्यक्रममा सहभागी हुनु भएका मन्त्री आले र वन तथा वातावरण मन्त्री यादवलाई विमानस्थल निर्माण आयोजनामा देखिएका अन्यौल तत्काल अन्त्य गरी तदारुकताका साथ काम गर्न पनि निर्देशन दिएका थिए ।
निरीक्षण टोलीमा बागमित प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतको संघीय ससदहरु सहभागि थिए । मुख्यमन्त्री पाण्डे केहि दिनअघि नेता नेपालकै निर्देशनमा निर्माण स्थलको निरीक्षण गरेर फर्किएका थिए ।
टोलीलाई टागियावस्ति सरोकार समिमितका संयोजक रमेश सापकोटाले समितिको तर्फबाट वस्ति स्थान्तरणसहित ७ सुत्रीय माग पत्र पेस गरेका थिए ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १९:१८
















