नक्कली नोट कारोबारीलाई प्रहरीले सार्वजनिक ग¥यो, बाराका तीन र रौतहटका दुई अभियूक्त
वि.सं.२०७८ भदौ २७ आइतवार १८:५६
बारा : बारा र रौतहटबाट जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका अभियूक्तलाई बारा प्रहरीले आईतबार सार्वजनिक गरेको छ
नेपाली प्रहरीको विशेष कार्यदल (एसटिएफ) ले पक्राउ परेर बुझाएको भोलिपल्ट बारा प्रहरीले पाँच जनाको परिचय खुलाएको हो । पक्राउ पर्नेमा बाराका तीन र रौतहटका दुई जना छन् ।
प्रहरीका अनुसार बारा करैयामाई गाउँपालिका–५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि–९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् । त्यस्तै रौतहटका गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी रहेका छन् ।
केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा विशेष कार्यदल (एसटिएफ) को टोलीले तारा इन होटलबाट नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोटरसाईकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको थियो ।
त्यस्तै सुनिल रामको घरमा तत्काल खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान र बीआर ०५यू४६१० नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल र प्रदेश २–०३–००१प ४२६५ नं.को २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेको छ भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ भदौ २७ आइतवार १८:५६