सधैं कम्पन भईरहने ‘जमिन’, पाँच चुनावमा तीन पार्टी फेरे ! ३० वर्ष पुरानो घर एमाले फर्किए
वि.सं.२०८० असोज १८ बिहीवार १८:२३

बारा–भुकम्प आएको बेला बाहेक जमिन स्थिर हुन्छ तर, राजनीतिकका एक पात्र जमिन यस्तो नाम हो, जसलाई चुनावी भुकम्प र पराकम्पले समेत अस्थिर बनाई दिन्छ ।
जनयुद्धमा शोषक वर्ग र राज्य संयन्त्र हल्याउने उनै शिवचन्द्र कुशवाह जमिन चुनावी तालिकसँगै टिकटको आशामा हल्लिरहेका हुन्छन् ।
जनयुद्धको जगगगीबाट उदायको तत्कालिन नेकपा माओवादी २०६४ मा देशकै विशाल पार्टी बन्दा पहिलो खाता बाराबाट जमिनले खोलेका थिए । त्यसयता नतिजाले जमिनलाई सधैं निराश बनाई रहेको छ । त्यो निराशा मेट्न जमिन पटक–पटक हल्लिएर तर नतिजा भने उस्तै ।
न उनको नतिजामा सुधार आयो न उनी नै सुध्रिए । २०७० मा पार्टी परिवर्तन सद्भावना पार्टीबाट उम्मेदवार बनेका जमिनको पराजयको यात्रा त्यहिँबाट सुरुवात भएको थियो ।
पार्टीले टिकट नदिएपछि तत्कालिन एकीकृत नेकपा माओवादी त्यागेर तत्कालिन राजेन्द्र महत्तोले नेतृत्व गरेको सद्भावना पार्टीका प्रवेश गरेर उम्मेदवार बनेका थिए ।
कुशवाहलाई रोकेर माओवादीले रामबाबु यादवलाई उम्मेदवार बनाए पनि कांग्रेसका राधेचन्द्र यादबले चुनाव जिते ।
निर्वाचनमा पराजयसँगै जमिन ‘सुध्रिएर’ माओवादीमा फर्किए । माओवादीले पुनः अवसर दियो । पहिलो संविधान सभाको निर्वाचन जितेका जमिनले दोस्रो संविधान सभा निर्वाचनमा पराजित भएपनि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पुनः टिकट पाए ।

उनको पराजयको यात्रामा विराम लागेन । चुनाव तत्कालिन फोरम नेपालका महासचिव रामसहाय यादवले चुनाव जिते । २०७९ मंसिरमा नतिजा पुनः दोहोरियो । यादवसँग झिनो मतान्तरले जमिनले चुनाव हारे । यादव उपराष्ट्रपति बने । त्यहाँ पाँच महिनापछि उपनिर्वाचन भयो ।
जमिनले चुनाव जित्ने अर्को एउटा उपयुक्त अवसर पाए । झिनो मतले पराजित भएका जमिन उपनिर्वाचनबाट निर्वाचित हुनेमा ढुक्क थिए । निकटम प्रतिद्धन्दी भएकै कारण आफुले टिकट पाउनेमा विश्वस्त रहेका जमिनमाथि ‘परकम्प’ बनेर बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको ‘इन्टि’ भयो । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा यादवले टिकट पाउने पक्का पक्की भएपछि जमिन पुनः हल्लिए ।
जमिन जनमत पार्टीबाट उपेन्द्र विरुद्ध खडा भए । उपेन्द्रमा सप्तरीमा चुनाव हराएका जनमत अध्यक्ष सिके राउत आफै मैदानमा खटिए । उपेन्द्रलाई दोस्रो पटक हराउने योजना बनाएपनि नतिजा भने जमिनको चौथो हार आयो ।
३ सय ५४ भोट कम ल्याएर चुनाव हारेका जमिनको उपनिर्वाचनसम्म आईपुग्दा मतान्तर पा“च हजार ८१ पुग्यो । ‘बाहिरिया’ भनेर प्रचार गरिएका उपेन्द्रसँग जमिन पराजित भए ।
पराजयको अपजस सिके राउतलाई थोपर्दैै उनीविरुद्ध अभिव्यक्ति दिदै हिडेका जमिन जनमतबाट निस्कासित भए । राउतले राजनीतिक चरित्र नदेखाएको बताउँदै आएका थिए । जनमत पार्टीले उनलाई ३ साउनमा साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।
अर्को पाँच महिना वित्ने वित्तिकै नयाँ पार्टी खोल्ने, अन्य पार्टीमा प्रवेश गर्ने, माओवादीमा फर्किने आँकलन विच जमिनले ३० वर्ष पुरानो घर सम्झिएका छन् । त्यो पनि कुनै कम्पन विना नै । पूर्वसांसद जमिन विहिबार नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच कुशवाहा एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । दल परिवर्तन नगर्ने प्रतिवद्धतासहित एमाले प्रवेश गरेका हुन् । जनयुद्ध अगाडी आफू एमालेमै रहेको बताउँदै कुशवाहाले ३० वर्षपछि आफ्नै घर फर्किएको समेत बताएका छन् ।
वि.सं.२०८० असोज १८ बिहीवार १८:२३

















