सिम्रौनगढ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन
बजेट ल्याउन सिम्रौनगढ असफल
वि.सं.२०८० भदौ १० आइतवार १६:२४

बारा–सिम्रौनगढ नगरपालिकामा पटक–पटक चर्केको विवादको कारण कार्यालय प्रमुख नगरपालिकामा बस्न नमानेपछि कार्यालय प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको हो ।
सिम्रौनगढ नगरपालिकामा दोस्रो कार्यकालको लागि निर्वाचित भएका जनप्रतिनिधिले एक वर्ष भईसकेपनि प्रमुख प्रशासकीय अधिकृतलाई टिकाउन सकेका छैनन् ।
सिम्रौनगढ नगरपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालको काज फिर्ता भएपछि निमित्तको जिम्मेवारी पाएका आठौं तहका कर्मचारी बिरेन्द्र साह केही समय नबित्दै भ्रष्टाचार मुद्दामा उनी सहित तत्कालीन लेखापाल सर्वेन्द्र चौधरी सहित चार जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दा परे ।
संघीय विकास मन्त्रालयबाट उपसचिव दिनेश न्यौपानेलाई नियुक्ति दिई सिम्रौनगढ नगर पालिकामा पठाईएको थियो । निर्वाचित नगर प्रमुख किशोरी साह कलवार र वडा अध्यक्ष विच आपसी भागवण्डा नमिलेको र करार कर्मचारी विवादको कारण कार्यालय प्रमुख न्यौपानेले समेत ६ महिना नवित्दै सिम्रौनगढ छाडे ।
स्थानीय तहमा निर्वाचित मेयर र वडा अध्यक्ष बिचको जुड़ेको लडाईमा नगरपालिकामा निम्ताईएको विवादको कारण मन्त्रालयले पठाएको उपसचिव समेत टिक्न नसकेको खण्डमा मन्त्रालयले पुन अर्को उपसचिव प्रकाश खनाललाई नियुक्ति गरेर पठाएका थिए । तर उनी नगरपालिकाको विवाद मिलाउन असफल भएपछि एक महिना नवित्दै उनी पुनः मन्त्रालयमा फर्किए ।
आ.व. ०८०/०८१ को नगर सभा हुन सकेको छैन । जसका कारण समयमै बजेट ल्याउन सिम्रौनगढ असफल भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गतेभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । यसरी असार १० गते सभामा पेस गरेको बजेट १५ दिनभित्र अर्थात् असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
वि.सं.२०८० भदौ १० आइतवार १६:२४

















