उनका अनुसार सार्वजानिक लेखा समितिले उपकरण खरिदका सम्बन्धनमा जानकारी गराउन ३ दिनको समय दिएको थियो । निर्देशन अनुसार अस्पतालले शुक्रबार समितिलाई खरिद प्रक्रियाका आवश्यक कागजात उपलब्ध गराएको छ । ‘आज दिउँसो मात्रै हामीले कागजात प्राप्त गरेका छौं,’ शाही भने, ‘प्राविधिक टोली सहित छानबिन पनि सुरु गरेका छौं ।’
सामान एउटै, बेच्ने पनि एउटै, तर मूल्य ७ करोड फरक
कर्णाली प्रदेश अस्पताल सुर्खेत र सिभिल अस्पताल काठमाडौंंले खरिद गर्ने निर्णय गरेका एमआरआई मेसिन एउटै कम्पनी र एउटै क्षमताका हुन् ।
यी दुवै अस्पतालले थ्री टेस्ला क्षमता भएको एमआरआई खरिदका लागी बोलपत्र स्वीकृत गरि प्रक्रिया अगाडि बढाएका छन् । तर सिभिल अस्पताल भन्दा कर्णाली प्रदेश अस्पतालले खरिद गर्न लागेको उपकरणमा ७ करोड रुपैयाँ महँगो परेको छ । दुवैले ईष्ट वेस्ट कन्सर्न प्रालिमार्फत मेसिन खरिद गर्न लागेका हुन् ।
सिभिल अस्पतालले १७ लाख २२ हजार ९०० डलर अर्थात २२ करोड ७४ लाख २२ हजार ८०० नेपाली रुपैयाँमा खरिद गर्ने निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको छ ।
प्रदेश अस्पतालले भने २९ करोड ७१ लाख ६६ हजार ७९२ रुपैयाँमा खरिद गर्न कन्सर्नलाई जिम्मा दिएको छ ।
दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन् ।
दुवै अस्पतालले साना र ठूला गरी ३०० भन्दा बढी बुँदामा स्पेसिफिकेसन बनाएका छन् । सिभिलले २५ वटा मुख्य विषयमा र प्रादेशिक अस्पतालले ३० वटा मुख्य विषयमा बुँदागत रुपमा स्पेसिफिकेसन बनाएका छन् । जसमा अधिकांश बुँदाहरु एक अर्कामा मेल खान्छन् ।


















