बाेनस नदिएपछि त्रिवेणी उद्योगका प्रमुखसहित कर्मचारीलाई मजदुरले थुनेपछि…
अश्रुग्यास हानेर सशस्त्र प्रहरीले गर्याे उद्धार
वि.सं.२०७९ कात्तिक ३ बिहीवार २२:३७

बारा- पथलैया–वीरगञ्ज औद्योगिक करिडोर अन्तर्गत बाराकाे जीतपुरसिमरा उपमहानगर–९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका मजदुरले प्रमुखसहित व्यवस्थापकलाई थुनेका छन् ।
उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका हुन्।
बुधवार दिउँसो १ बजे मजदुर र उद्योग प्रशासनबीच भएको वार्तामा सहमति नभएपछि साँझ ५ बजेदेखि आज (बिहीबार) दिउँसो ३ बजेसम्म उद्योगमै बन्धक बनाएर राखेको उद्योग व्यवस्थापक प्रेमकुमार सिंहले जनाएका छन् ।
यसरी भयाे उद्वार
उद्योगीका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ ।
बन्धक बनाइएका सबैलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेर ईलाका प्रहरी कार्यालय सिमरामा लगेर राखेको सिंहले जनाए ।
अश्रुग्याँस प्रहार
प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले उद्योग प्रमुख, व्यवस्थापक र कर्मचारीलाई उद्धारको क्रममा अश्रुग्याँस समेत प्रयोग गर्नुपरेको बताए । ‘दोहोरो झडपको अवस्था सिर्जना भएपछि हामीले उद्धारको क्रममा अश्रुग्याँस प्रहार गरेका हौं,’ उनले भने ।
दोहोरो झडपको क्रममा ११ जना प्रहरी र केही मजदुरसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक ३ बिहीवार २२:३७

















