सिमराको सपिङ्ग कम्प्लेक्स बनाउन अनाधिकृत संरचना बाधक ! अटेरी गर्नेलाइ अन्तिम पटक सूचना जारी
यस्तो बन्नेछ सपिङ्ग कम्प्लेक्स
वि.सं.२०८० वैशाख ३० शनिवार २०:३४

काठमाडौं–बाराको जीतपुरसिमरा–२ सिमरा बजार क्षेत्रमा सपिङ कम्प्लेक्स बनाउने तयारी छ ।
जसमा नगर विकास कोष लगानी गर्न तयार भएपछि योजनाको प्राविधिक कार्य सकिएको छ ।
पाँच वर्षअघि नै कोरियन कम्पनीले डिपिआर तयार गरिदिएको छ । त्यहिँ डिपीआरलाई सामान्य परिमार्जन गरेर ठेक्का आह्वानको तयारी छ । तर, सपिङ कम्पेलेक्स बनाउने ठाउँमा अनाधिकृत संरचना बाधक बनेको छ ।
अटेरी व्यवसायी
अवैध रुपमा बनेका अनाधिकृत संरचना हटाउन जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको प्रयास जारी छ । उसले पटक–पटक सूचना जारी गरेर संरचना खाली गर्न अनुरोध गरेको छ ।
अनाधिकृत संरचना खाली गर्न व्यवसायीले अटेर गर्दै आएका छन् । उपमहानगरले संरचना खाली गर्न पहिलो पटक गत असोजमा सूचना निकालेको थियो । १२ असोज २०७९ मा ३५ दिने सूचना जारी गरेको उपमहानगरपालिकाले दोस्रो पटक ७ महिनापछि ७ बैशाखमा अर्काे सूचना निकाल्यो । अहिले पुनः २९ बैशाखमा तेस्रो पटक सूचना प्रकाशित गरेको छ ।
अन्तिम पटक सूचना जारी
उपमहानगरपालिकाले मेयर राजन पौडेलको निर्देशनमा अन्तिम पटक भन्दै व्यापार बन्द गरेर संरचना खाली गर्न ७ दिने सूचना प्रकाशित गरिएको छ ।
७ दिनभित्र खाली नगरे उपमहानगरपालिका आफैंले खाली गर्ने र खाली गर्न लागेको खर्च व्यावसायीलाइ तिराउने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ– मापदण्डको पालना नगरी निर्माण गरिएका भवन/संरचना, सिमा पर्खाल र अस्थायी टहराहरू तोकिएको समय सिमाभित्र नहटाईएको खण्डमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम उपमहानगरपालिकाले आफै हटाई हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति/संस्थाबाट असूल उपर गर्ने व्यहोरा समेत जानकारी गराईन्छ ।
उपमहानगरपालिकाको वडा नं. २ स्थित साबिक पिप्रासिमरा गा.वि.स.को नाममा रहेको कित्ता नं. ८१६ (१–४–६३), ८३१ (०–३–४–०) र ८३२ (०–१५–३–८) को जग्गाहरूमा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड बिपरित अनधिकृत संरचनाहरू बनेका छन् ।
छलफल गरेर खाली गराउँछौं : वडा अध्यक्ष श्रेष्ठ
जीतपुरसिमरा वडा नं. २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठले सिमराको व्यवस्थित बजार र सुन्दर सिमरा शहरको निमार्णको लागि सपिङ्ग कम्प्लेक्स आवश्यक रहेको बताए । त्यसको लागि अहिलेको अब्यवस्थित बजार खाली गर्नुपर्ने बताए ।

‘नगर विकास कोषको प्राविधिक टोली आएर निरीक्षण गरेर फर्किएको छ,’ अध्यक्ष श्रेष्ठले भने– हामीले जमिन खाली गर्नुपर्ने छ । कोषले दुई महिनाको समय दिएको छ । जमिन खाली गर्न उपमहानगरपालिकाले एक साताको सूचना निकालेको छ । हामी व्यवसायीसंग छलफल गरेर जमिन खाली गर्छाैं ।’
सपिङ्ग कम्पेलेक्स बनेपछि उपमहानगरपालिकाको आन्तरिक स्रोत बढ्ने व्यावसायिकता पनि बढ्ने वडा अध्यक्ष श्रेष्ठको विश्वास छ । जमिन खाली गरेपछि कोषले सपिङ्ग कम्पेलेक्स निर्माणको टेन्डर आह्वान गर्ने जानकारी गराएको छ ।
यस्तो बन्नेछ सपिङ्ग कम्पेलेक्स
तयारी अवस्थामा रहेको सपिङ्ग कम्पेलेक्स डिपीआरमा २ तल्लाको बेसमेन्ट पार्किङ्गसहित जमिन तल्लामा ४० भन्दा माथि सटरहरु, पहिलो तल्लामा २ नं. वडा कार्यालय राख्ने प्रस्ताव छ । त्यसमा बाँकि स्थानमा बैक, सहकारी गरी अन्य गैर सरकारी कार्यालयहरु राख्न सकिने ब्यवस्था छ ।



त्यसैगरि दोश्रो तल्लामा समेत भएको र माथिल्लो तथा तेश्रो तल्लामा जिम हल, फुड कोर्ट, प्ले जोन, रेष्टुरेण्टहरु भाडामा लाग्न सक्ने गरी कमर्सियल भवनको डिजाईन गरिएको छ ।
समग्रमा चार तल्ले कम्प्लेक्स भवन र दुइ तल्ले बेसमेन्ट पार्किङ्ग राख्ने डिजाईन गरिएको छ ।
हामी सहयोग गर्छाैं : राजनीतिकर्मी
उपमहानगरपालिकाले अवैध संरचना खाली गर्ने अभियान सुरु गरेको छ । जीतपुर गौशलाको संरचना खाली गर्ने क्रममा स्थानीयवासीको साथ पाएकाले सिमरा बजारको अवैध संरचना खाली गर्ने अभियानमा पनि उपमहानगरपालिकाले स्थानीय र राजनीतिकर्मीको साथ पाउने अपेक्षा गरेको छ ।
नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्माले सहमतिमै जमिन खाली भएर सपिङ्ग कम्पेलेक्स निर्माण अघि बढ्ने विश्वास व्यक्त गरे । त्यहाँ अहिले व्यवसाय गरिरहेका व्यवसायीलाई व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाउन वडा कार्यालयमार्फत सहजिकरण गर्नुपर्ने धारणा राखे ।

उनले विपन्न अवस्थाका व्यवसायिलाइ सपिङ्ग कम्पेलेक्सको सटरमा सहुलियत र अहिले व्यवसाय गरिरहेकालाई प्राथमिकतामा सटर उपलब्ध गराएर अघि बढ्ने वातावरण बनेमा सहज रुपमा बजार व्यवस्था हुने बताए ।
एकीकृत समाजवादीको नेता कृष्ण खनालले सिमराको महत्वपूर्ण ठाउँमा रहेको जमिनको सहि सदुपयोग गर्नेमा सबैको साझा मत रहेको बताए ।

विगतदेखि नै त्यस ठाउँलाइ व्यवसायिक तथा महत्वपूर्ण कार्यालयको केन्द्र बनाउने विषयमा चर्चा भईरहेको उल्लेख गर्दै नेता खनालले जीतपुरसिमराले त्यसलाइ सहि सदुपयोग गर्न लागेको विषय राम्रो भएको जनाए ।
स्थान्तरणसहित व्यवस्थापन गर्नुपर्छ : मोहन शर्मा, अध्यक्ष, नगर उद्योग वाणिज्य संघ
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले उपमहानगरपालिका कार्यालयले बजारसहित स्वास्थ र वडा कार्यालयलाइ व्यवस्थापन गर्न लागिएकोमा स्वागत गरे ।

उनले बजार क्षेत्रलाई पार्कसहित सुन्दर ढंगबाट व्यवस्थापन गरिदा अनाधिकृत रुपमा बनाईएको संरचना खाली गर्नुपर्ने भएकाले त्यहाँ व्यवसाय सञ्चालन गरेर साँझ विहान गर्नुपर्ने अवस्थाका व्यावसायिलाई पहिला नगरले स्थान्तरणको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
संचना खाली गरेर नयाँ नबन्दासम्म व्यवसायिले कहाँ बसेर व्यवसाय गर्ने भन्ने विषयमा छलफल गरेर अघि बढ्दा अवरोध बिनानै संरचना खाली गर्न सकिने अवस्था बन्ने अध्यक्ष शर्माको विश्वास छ ।
सपिङ्ग कम्प्लेक्समा अहिले त्यहाँ व्यावसाय गरिरहेकालाई पहिलो प्राथमिकता दिनुपर्ने उनको माग छ । ‘विगतमा व्यवसायि संघसंग कुनै समन्वय भएन,’ अध्यक्ष शर्माले भने–अहिले उपमहानगरले समन्वय गरेर अघि बढ्न थालेको छ, जुन सकारात्मक पक्ष हो ।
वि.सं.२०८० वैशाख ३० शनिवार २०:३४
















