कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिसलाई थप ५ स्वर्ण

वि.सं.२०७९ माघ २७ शुक्रवार २०:१८

काठमाडौं – नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन ५ वटा स्वर्ण पदक थपेको छ ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगितामा शुक्रबार नेपाल एपिएफ क्लबले एउटा स्वर्ण पदक थप्दा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ ।
प्रतियोगिताको पहिलो दिन बिहीबार पुलिसले ३ र एपिएफ क्लबले २ वटा स्वर्ण पदक जितेको थियो ।
१७ इभेन्ट्स मध्ये १२ इभेन्ट्सको छिनोफानो हुँदा पुलिसले सर्वाधिक ८, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ ।
प्रदेशका टोलीले भने अहिले सम्म स्वर्णको खाता खोल्न सकेका छैनन् । प्रतियोगिताको अन्तिम दिन शनिबार ५ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
शुक्रबार पुरुष कुमुते ६० केजी तौल समूहमा एपिएफका मीनबहादुर तामाङले स्वर्ण, आर्मीका किर्तन महर्जनले रजत तथा लुम्बिनी प्रदेशका यामबहादुर समाल र गण्डकी प्रदेशका सक्षम लामाले कास्य पदक जितेका छन् ।
शुक्रबार नै नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपिएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कास्य पदक प्राप्त गरिन् ।
पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए ।
त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्दा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन् ।
पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए ।
पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषा थापा रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।
पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका साइमन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

वि.सं.२०७९ माघ २७ शुक्रवार २०:१८