स्थानीय तह निर्वाचनको मिति आज घोषणा हुँदै
वि.सं.२०७८ माघ २४ सोमवार १२:१६

काठमाडौं । सरकारले आज स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब परिरहेकोलाई समेत मध्यनजर गरी आज बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सञ्चारकर्मीलाई बताए ।
निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने सरकारको तयारी रहेकाले निर्वाचनको विषयमा ढुक्क हुन पनि उनले आग्रह गरे । आयोगले स्थानीय तह निर्वाचन गर्न जेठ ४ गते बुधबारको दिन ७ सय ५३ तहमा एकैपटक निर्वाचन गर्ने प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्बाट मिति तोक्नका लागि आयोगले निर्णयका गृह मन्त्रालयमार्फत राय पनि पठाइसकेको छ ।
आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेलगत्तै गृहमन्त्रीको अध्यक्षतामा रहेको केन्द्रीय सुरक्षा समितिको बैठकले गत बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने लक्ष्यसहित सुरक्षा र बन्दोबस्तीसम्बन्धी विस्तृत कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो । त्यसका लागि समन्वय गर्न गृह मन्त्रालयका सुरक्षा र समन्वय महाशाखा प्रमुख मुकुन्द निरौलाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
निर्वाचनको व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक तयार गर्न आयोगलाई सामान्यतया निर्वाचनको मिति घोषणा भएको दिनदेखि १ सय २० दिन आवश्यक पर्दछ ।
आयोगले धेरैजसो पूर्वतयारीहरू भइसकेकाले अब सरकारले मिति घोषणा गर्नेबित्तिकै बाँकी तयारी अघि बढाउने जनाएको छ । ‘मिति नहुँदा पनि गर्न मिल्ने तयारीका कामहरू लगभग भइसकेका छन् ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा एकै चरणमा वा दुई वा दुईभन्दा बढी चरणमा गर्न सकिने व्यवस्था रहेको छ । दुई वा तीन चरणमा गर्दा निर्वाचन खर्च, सुरक्षा व्यवस्थापन सहजताका लागि एकै चरणमा गर्नुपर्ने आयोगको प्रस्ताव छ ।
एकै चरणमा गर्दा व्यवस्थापन सजिलो हुने, मतदाता शिक्षा सामग्रीहरूमा एकरूपता हुने, प्रचारप्रसार खर्च कम हुने, अनुगमन र पर्यवेक्षण सहज हुने, एक ठाउँको परिणामले अर्को ठाउँको निर्वाचन प्रभावित नहुने आयोगले जनाएको छ ।
वि.सं.२०७८ माघ २४ सोमवार १२:१६

















