सेनेटरी प्याड खरिदमा आदर्श गाउँपालिकाकाे चरम लुट !
वि.सं.२०७८ माघ २७ बिहीवार १४:०८

डोटी । सेनेटरी प्याड खरिदमा आदर्श गाउँपालिकाले चरम लुट गरेको खुलेको छ । ऐनविपरीत गाउँपालिकाले १२ लाख ४४ हजार ३६ रुपैयाँमा खरिद गर्नुपर्ने सेनेटरी प्याडमा अनियमितता गरेको पाइएको हो । यसअघि प्रतिथान ३२ रुपैयाँमा आफैं खरिद गरेको उही गुणस्तरको सेनेटरी प्याडमा गाउँपालिकाले अढाइ गुणा मूल्य हालेको हो ।
गाउँपालिकाले २०७७ असार २५ मा सिलबन्दी दरभाउका आधारमा १४ हजार ७ सय ९४ थान सेनिटरी प्याड प्रतिथान ३२ रुपैयाँका दरमा यशोदा फार्मेसीबाट खरिद गरेको थियो ।
तर १० दिनको फरकमा कोटेसनमार्फत प्रतिथान भ्याटबाहेक ७९ रुपैयाँका दरमा मेडियट सर्जिकल एन्ड सप्लायर्सबाट र अनुषा फार्मेसीबाट ७९.५ रुपैयाँका दरले ८ हजार ९ सय ७४ थान खरिद गरेको छ ।
‘एउटै कार्यक्रमको रकमबाट एकै स्फेसिफिकेसनको सेनेटरी प्याड सिलबन्दी दरभाउ पत्रबाट ३२ रुपैयाँमा खरिद गरेकोमा १० दिनपछि फरक–फरक संस्थाबाट ७९ र ७९.५ रुपैयाँमा खरिद गर्दा गाउँपालिकालाई ४ लाख २३ हजार ५ सय ३५ रुपैयाँ व्ययभार भएको छ,’ महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउँदै प्रतिवेदनमा उल्लेख गरेको छ, ‘वार्षिक रूपमा प्रयोगमा ल्याउने गरी खरिद एवं वितरण गर्नुपर्नेमा सेनेटरी प्याड आर्थिक वर्षको अन्तिम महिनामा खरिद गर्दा विद्यार्थीले आवश्यकताअनुसार प्रयोग गर्न नपाउने स्थिति देखियो ।’
संघीय सरकारबाट सेनेटरी प्याड खरिदका लागि सबै स्थानीय तहलाई बजेट दिइएकोमा अन्य स्थानीय तहले सिलबन्दी बोलपत्र आह्वान गरी खरिद गरेका थिए ।
आदर्श गाउँपालिकामा विभिन्न मालसामान खरिद प्रक्रियामा चरम लुट भइरहेको स्थानीयहरुले आरोप लगाएका छन्। स्राेतले भन्याे, जनताका नाममा आएको रकम जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
साथै यहि सम्वन्धमा आदर्श गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायासंग बुझ्न खोज्दा मलाइ यो बिषयमा केही थाहा छैन्, बाहिरतिर हल्ला सुनेको छु । यो बिषयमा हामी अनुसन्धान गरेर जानकारी दिने भन्दै फरक नेपाल डटकमसंग टेलिफोनमा कुरा गर्दै पन्छिएका छन् ।
वि.सं.२०७८ माघ २७ बिहीवार १४:०८

















