अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी, मोक्तानसहित २३ जना पक्राउ
वि.सं.२०७८ फागुन ४ बुधवार ०८:२९

काठमाडौँ । गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ ।
मुसिकोट नगरपालिका(४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।
वडा नम्बर ३ र ४ का भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडागाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् । आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।
अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन। राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए । वामी प्रहरी चौकी इन्चार्ज जनक थापाले गाउँमै अर्को आत्महत्या घटना भएको र प्रहरी संख्या कम भएकाले केहीबेरमा घटनास्थल पुग्ने बताए ।
यसैगरी काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको प्रहरी जनाएकाे छ।
पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत छन् ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।
वि.सं.२०७८ फागुन ४ बुधवार ०८:२९

















