‘म यस्तो गीत गाउँछु २’ ले प्रचारका लागि बनायो दुई भाषामा गीत
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:५७
काठमाडौं । पछिल्लो समय निर्माता फिल्म प्रचारका लागि नयाँ शैली अपनाउन थालेका छन् । यस्तैमा १३ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रचारका लागि थारु र नेवारी गरेर दुई भाषामा प्रमोसनल गीत बनाएको छ ।
राजधानीमा एक कार्यक्रमका बीच दुबै गीत सार्वजनिक गरेको छ । जसमध्ये सार्वजनिक थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको स्वर छ भने गायक योगीकै शब्द तथा संगीत छ । चितवनमा छायाङ्कन भएको गीतमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा पनि देखिएका छन् ।
त्यस्तै नेवारी भाषाको गीतमा पनि गायक योगीकै शब्द तथा संगीत छ । नेवारी कला संस्कृतिसहित छायाङ्कन भएको गीतमा कलाकारको पल र पूजा पनि देखिएका छन् । कार्यक्रममा निर्देशक सुदर्शन थापाले फिल्म प्रमोसनका लागि धेरै भाषामा गीत बनाउने लक्ष्य भएपनि कोरोनाको कारण नसकिएको बताए ।
पल र पूजाले भने फिल्ममा पहिलोपटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । गीतले थारु र नेवारी समुदायलाई हलसम्म आकर्षित गर्न मद्दत गर्ने बताए । फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय छ ।
बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म पूजा शर्मा र सुदर्शनले मिलेर बनाएका हुन् ।
वि.सं.२०७८ फागुन ५ बिहीवार ११:५७
















