हरिवनको गणेश मन्दिर : प्राकृतिक ‘हात्ती ढुङ्गा’ बाट धार्मिक गन्तव्यसम्मको यात्रा (भिडियो)
वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३९

हरिवन नगरपालिका–४ — चुरे फेदीमा फैलिएको तराईको समथर भूभागमा बसाइँसराइसँगै विकसित भएको बस्ती आज धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा परिचित बन्न थालेको छ। पहाडबाट मानिसहरू २०१८–२० सालतिर यहाँ झर्न थालेपछि बिस्तारै सघन बस्ती विकास भयो। २०४० सालसम्म आइपुग्दा यहाँ समुदाय, संस्कार र संस्कृति स्थापित भइसकेका थिए।
त्यस समय गाउँमा दैनिक पूजा गर्ने कुनै मन्दिर थिएन। स्थानीय बासिन्दाले देवी पूजा, बरम पूजा र संसारी पूजा जस्ता परम्परागत विधिमार्फत धार्मिक आस्था जोगाउँदै आएका थिए। यसैबीच मन्दिरको पश्चिम–उत्तर क्षेत्रमा रहेको “कोठी बोला” भन्ने स्थानमा गणेशको आकृति झल्काउने प्राकृतिक ढुङ्गा ‘हात्ती ढुङ्गा’ स्थानीयको आस्थाको केन्द्र बन्न थाल्यो।
त्यही क्रममा गाउँका युवा उनबहादुर कार्की र चेतबहादुर विष्टले आयोजना गरेको वनभोज कार्यक्रममा स्थानीय अगुवा तथा बासिन्दाले गाउँमा मन्दिर निर्माण गर्ने निर्णय गरेका थिए। त्यसपछि पुर्ण दास प्रधान ले प्राकृतिक हात्ती ढुङ्गालाई गणेशको मूर्तिको रूप दिएका थिए।
स्थानीय अग्रज थिरचन थापा का अनुसार २०४४ सालबाट प्राणप्रतिष्ठा गरी नियमित पूजाआजा सुरु गरिएको हो। अन्ततः २०४३ साल चैत्र १७ गते मंगलबार गणेश मन्दिर स्थापना गरिएको थियो।
मन्दिर समितिका पूर्व अध्यक्ष हिरा महत ले स्वर्गीय पिताको इच्छाअनुसार मन्दिर निर्माणमा भूमिका निभाउँदै आएको बताउँदै सप्ताह तथा स्थानीय सहयोगबाट दुई वटा मन्दिर स्थापना गरिएको जानकारी दिए। उनका अनुसार सच्चा मनले भगवान गणेशको दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको छ।
केशवराज थापा ले गणेश मन्दिर परिसर अहिले सर्लाहीकै धार्मिक गन्तव्यका रूपमा विकास भइरहेको बताए। उनका अनुसार परिसरको थप विकासका लागि विभिन्न संरचना निर्माण भइरहेका छन्।
गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष हेमबहादुर बस्नेत ले सनातन धर्म संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि झुलुङ्गे पुल लगायतका संरचना निर्माण गरिएको बताए।
मन्दिर क्षेत्रमा अहिले संस्कृति पार्क निर्माणको काम पनि अघि बढिरहेको छ। वडा अध्यक्ष थापाको पहलमा निर्माण हुन लागेको पार्कका लागि मूर्तिकार विष्णु तामाङ विगत एक महिनादेखि खटिएका छन्। पोखरीभित्र ८ फिट अग्लो बुढानिलकण्ठको मूर्ति स्थापना गर्ने तयारीसमेत भइरहेको छ।
स्थानीयका अनुसार मन्दिर क्षेत्र धार्मिक मात्र नभई मनोरञ्जन र स्वास्थ्य अभ्यासका लागि समेत आकर्षक बन्दै गएको छ। योग अभ्यासदेखि बालबालिकाको घुमफिरसम्मका गतिविधि यहाँ सञ्चालन हुँदै आएका छन्।
मन्दिर क्षेत्रको संरक्षण तथा विकासका लागि स्थानीयले हरेक वर्ष महायज्ञ आयोजना गर्दै आएका छन्। यस वर्ष आगामी वैशाख २५ गतेदेखि महायज्ञको तयारी भइरहेको यज्ञ समितिका अध्यक्ष सुमन महत ले जानकारी दिए।
महायज्ञ समितिका सदस्य लक्ष्मण कार्की ले महायज्ञबाट व्यवस्थित पिकनिक पार्क निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३९
















