skip this

रुसलाई सहयोग नगर्न चीनलाई अमेरिकी चेतावनी

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अमेरिकाले रुसलाई कुनै पनि किसिमको आर्थिक वा सैन्य सहयोग उपलब्ध नगराउन चीनलाई चेतावनी दिएको छ ।

रुसले चीनसँग सहायता मागेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुमा आएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्टका अनुसार युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै रुसले बेइजिङसँग त्यस्तो मद्दत मागेको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले रुसलाई पश्चिमा प्रतिबन्धहरूबाट जोगाउने कुनै कोसिस बेइजिङले गर्न नहुने बताए । आज उनले चीनका वरिष्ठ विदेश नीति अधिकारी याङ जेइचीसँग रोममा भेट्दैछन् । तर चीनका एक अधिकारीले आफूहरु लडाइँ नचर्कोस् भन्ने पक्षमा रहेको बताए ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरुलाई कुनै जानकारी नभएको बताए। चीनले हालसम्म रुस–युक्रेन युद्धमा आफूलाई तटस्थ रुपमा प्रस्तुत गरिरहेको छ ।

यसैबीच युक्रेनी सेनाले रुसले युक्रेनका कयौँ सहरमा थप आक्रमणको तयारी गरिरहेको बताएको छ। युक्रेनी जनरल स्टाफले एक पत्रिकासँगको कुराकानीमा खार्किभ, सुमी लगायतका सहरमा थप विध्वंसपूर्ण आक्रमणको तयारी गरेको बताएका हुन् ।

यस्तै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले सैन्य तालिम केन्द्रमा आक्रमण गरेको दिनलाई कालो दिनको संज्ञा दिनुभएको छ। हिजो पश्चिम युक्रेनको पोल्याण्ड सीमानजिक सैन्य तालिम केन्द्रमा रुसी सेनाले गरेको आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो ।
-एजेन्सी

nijgadh-supermart-adz1200-630