१० महिना बराबरको खर्च असारमा गर्दै सुदूरपश्चिम प्रदेश सरकार
वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:५७

धनगढी । असारे विकासको परम्परामा ब्रेक लगाउँदै यस वर्ष समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार सो प्रतिबद्धता कार्यान्वयन गर्न यस वर्ष पनि चुकेको छ ।
प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १० महिना बराबरको पुँजीगत बजेट खर्च असारमै गर्ने तयारी गरेको छ । जेठसम्म आइपुग्दा ३० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा झन्डै ४० प्रतिशत खर्च गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षमा ७० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च हुने अनुमान गरेको प्रदेश सरकारले वैशाखसम्म जम्मा ३० दशमलव ४ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । यदि प्रदेश सरकार आफ्नो लक्ष्यमा पुग्ने हो भने अबको एक महिनामा ३९ दशमलव ६ प्रतिशत अर्थात् ६ अर्ब खर्च गर्नुपर्ने छ ।
तर चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा भने सुदूरपश्चिम प्रदेश सरकारले पाँच अर्ब ५४ करोड ५८ लाख नौ हजार ६ सय ३२ रुपैयाँ ९३० दशमलव ४ प्रतिशत मात्रै खर्च गरेको विवरण प्रदेश कोष नियन्त्रक कार्यालयसँग छ । यसरी हेर्दा सुदूरपश्चिममा चालू आर्थिक वर्षको १० महिनामा गरेको खर्चभन्दा असारमा हुने खर्च बढी हने छ ।
सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सहसचिव तुलसी भट्टराई भने धेरै भौतिक प्रगति सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ हुँदा खर्च कम भएको बताउँछन् । काम गरेर पनि ठेकेदारले बिल भुक्तानी नगरेका कारण बजेट खर्च कम देखिएको भन्दै उनले असार मसान्तसम्म ७० प्रतिशतकै हाराहारीमा पुँजीगत बजेट खर्च हुने अनुमान गरिएको बताए । ‘अहिलेसम्म ३४ देखि ३५ प्रतिशतसम्म बजेट खर्च भएको छ,’ उपसचिव भट्टराईले भने, ‘धेरै काम भएर पनि भुक्तानी भएको छैन, काम सम्पन्न गरेर पनि धेरै ठेकेदारहरूले असारमा भुक्तानी लग्ने भएका कारण खर्च बढी भएको देखिने हो ।’
वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:५७
















