skip this

मेलाको मौषम : निजगढका रात्रीकालीन मेलामा लाखौँको जुवा, सर्वसाधारणको उठिबास ! प्रहरीको निगरानी कि संरक्षण ?

36 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ नगरपालिकाका विभिन्न स्थानमा प्रत्येक वर्ष आयोजना हुँदै आएका रात्रीकालीन मेलामा जुवा, तास, कौडा र लंगरबुर्जाजस्ता गैरकानुनी गतिविधि मौलाउने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक उद्देश्यले आयोजना हुने यस्ता मेलाहरू पछिल्लो समय गैरकानुनी कारोबार गर्नेहरूका लागि अवसर बन्दै गएको आरोप लाग्दै आएको छ । सिंगौलदेखि डम्बरपुरसम्मका विभिन्न स्थानमा लाग्ने मेलामा मनोरञ्जनका नाममा जुवाका खाल सञ्चालन हुँदा सर्वसाधारण नागरिक आर्थिक फन्दामा पर्ने गरेका छन् ।

विशेषगरी रातको समयमा सञ्चालन हुने जुवाका खालमा एकै रातमा लाखौँ रुपैयाँको कारोबार हुने गरेको बताइन्छ । क्षणिक लोभमा परेर सर्वसाधारणले घरखेतदेखि जायजेथा गुमाउनुपर्ने अवस्था सिर्जना हुने गरेको छ । यस्ता गतिविधिका कारण कतिपय परिवार आर्थिक संकटमा पर्ने गरेका छन् ।

मेलामा हुने विकृति नियन्त्रण गर्नुपर्ने माग विगतदेखि नै उठ्दै आए पनि प्रभावकारी निगरानी र कारबाही हुन नसकेको स्थानीयको गुनासो छ । बरु कतिपय अवस्थामा यस्ता गतिविधिलाई नियन्त्रण गर्नुको सट्टा अप्रत्यक्ष संरक्षण मिल्ने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

यस वर्ष निजगढको सिंगौलमा लाग्ने मेलाको तयारी सुरु भइसकेको छ । मेला सुरु हुन लागेसँगै विगतका विकृति दोहोरिन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनले कस्तो कदम चाल्छन् भन्ने चासो बढेको छ ।

तिहारका बेला लंगरबुर्जा नियन्त्रणमा लिएर चर्चामा आएको प्रहरीले अब मेलामा सञ्चालन हुन सक्ने दर्जनौँ लंगरबुर्जा र जुवाका खाल नियन्त्रण गर्न सक्रियता देखाउँछ वा विगतकै अवस्था दोहोरिन्छ भन्ने प्रश्न उठेको छ ।

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्ने नाममा गैरकानुनी गतिविधिलाई प्रश्रय दिन नहुने स्थानीयको धारणा छ । मेला आयोजक, स्थानीय सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायले समयमै निगरानी बढाई जुवा तथा अन्य गैरकानुनी गतिविधि रोक्नुपर्ने आवश्यकता देखिएको छ ।

मेला संस्कृति र परम्पराको उत्सव बन्ने कि सर्वसाधारणको सम्पत्ति गुमाउने जुवाको अखडा ? यसको जवाफ सम्बन्धित निकायको सक्रियताले दिनेछ ।

nijgadh-supermart-adz1200-630