एमालेबाट निर्वाचित जनप्रतिनिधिको होहल्लापछि जीतपुरसिमराको नगरसभा अन्यौलमा
वडा अध्यक्ष भन्छन्-प्रहरीसंगकाे छलफलपछि वातारण बन्ने अवस्था छ
वि.सं.२०७९ असार ९ बिहीवार १९:५४

काठमाडौं । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको भोलि हुने भनिएको नगरसभा अन्यौलमा परेको छ ।
कार्यपालिका बैठकमा भएको नारावाजी र बहिस्कारको चेतावनीले भोलिको नगरसभा अन्यौलमा परेको हो ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको बहिस्कारपछि नगरसभा अन्यौलमा परेको हो । उपमहानगरपालिकाको आजको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा गर्ने वातावरण नभएको भन्दै बहिस्कार गर्ने संकेत गरेका थिए ।
वडा नम्बर २० का वडा अध्यक्ष रसुल मियाले आफ्नो वडामा भएको घटनाका कारण आफुले कामकाग गर्न नपाएको भन्दै हाललाई नगरसभा गर्ने वातावरण नभएको भन्दै बिरोध जनाएका थिए ।
लगत्तै कार्यपालिका बैठकमा उपस्थित एमालेका निर्वाचित जनप्रतिनिधिहरुले होहल्ला गर्दै नगरसभा बहिस्कार गर्ने समेत चेतावनी दिएका थिए ।
बैठकको शुरुवातमै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित भएको थियो ।
लगत्तै उप–प्रमुख भोला प्रसाद अधिकारीसहितका जनप्रतिनिधिहरु नगरपालिकाबाट बाहिरिएका थिए ।
नगर सभा गर्ने पक्षमा छाैं : उपप्रमुख अधिकारी
जीतपुरसिमरा उपमहानगरपालिका उप–प्रमुख भोला अधिकारीले वडा नम्बर २० को घटनाले जनप्रतिनिधिहरु असुरक्षित भएको बताउदै वातावरण सामान्य बनाउनुपर्ने बताए । ‘अहिले त्यहाका जनप्रतिनिधिहरु असुरक्षित छन, त्यसकारण पनि हामीले ईलाका प्रहरी कार्यालयमा पुगेर घटनाको बारेमा बुझेका छौ’ । वडा नम्बर २० मा भएको घटनाको बिषयले नगरसभा अन्यौलता भएको बताउदै उनले भोलि नै नगरसभा गर्ने तयारीमा आफुहरु लागेको बताए ।

उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित बकुलिया स्कुलमा भोलिदेखि नगरसभा शुरु गर्ने तयारी गरेको थियो । सम्पुर्ण तयारी पुरा गरेर पुर्व सध्यामा कार्यपालिका बैठक बसेपनि होहल्लाका बिच आजको कार्यपालिका बैठकले कुनैपनि निर्णय गर्न सकेन् ।
वडा नम्बर २० का वडा अध्यक्ष रसुल मियाँले वडा कार्यालय खुलाएर जनताकाे काम गर्ने वातावरण बनाउन आफुले कुरा उठाएकाे बताए ।
फरक नेपालसंगको कुराकानीमा उनले भने- ‘हामीले नगरसभा बहिस्कार गरेका छैनौ, कार्यालय खुलाउने वातावरण बनाउनुपर्यो भनेका हौ’ ।
प्रहरी कार्यालयमा भएकाे छलफलपछि सहज वातावरण बन्ने विश्वास लिएकाे भन्दै वडा अध्यक्ष मियाँले अब नगर सभाकाे लागि छलफल हुने जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र नगरसभा गरिसक्नुपर्ने छ ।
के भएको थियो वडा नम्बर २० मा ?
केहि समयअघि वडा नम्बर २० मा एक जनाको घाटिरेटी हत्या भएको थियो । घटना भएपछि स्थानीयले वडा अध्यक्षकै संलग्नतामा घटना घएको भन्दै वडा अध्यक्षलाई कारर्वाहीको माग गरेका थिए । वडा नम्बर २० का स्थानीयले प्रहरी कार्यालयमा वडा अध्यक्षबिरुद्ध उजुरी दिएका थिए ।
नवनिर्वाचित वडा अध्यक्ष मियासहित वडा सदस्यहरुले अहिलेसम्म पनि पदभार ग्रहण गरेका छैनन् । मिया नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
वि.सं.२०७९ असार ९ बिहीवार १९:५४

















