मेलोनी बनिन् इटालीकी पहिलो महिला प्रधानमन्त्री
वि.सं.२०७९ कात्तिक ५ शनिवार १९:१४
Giorgia Meloni, leader of the Brothers of Italy party, right, speaks alongside Silvio Berlusconi, leader of Forza Italia party, during a news conference following talks with Italy's President Sergio Mattarella at the Quirinale Palace in Rome, Italy, on Friday Oct. 21. 2022. Meloni clinched a mandate from her coalition on the path to becoming Italy's first female premier, after weeks of political stasis following her right-wing alliance's election win. Photographer: Alessia Pierdomenico/Bloomberg via Getty Images
काठमाडौं- जर्जिया मेलोनीले शनिबार आफ्नो क्याबिनेट टोलीसँगै इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेकी छन् । उनको सरकार दोस्रो विश्वयुद्धपछि इटालीमा गठन भएको सबैभन्दा दक्षिणपन्थी सरकार हुनेछ ।
राष्ट्रवादी ‘ब्रदर्स अफ इटाली’की प्रमुख मेलोनीको नेतृत्वको गठबन्धनले गत महिना भएको निर्वाचनमा जित हासिल गरेको थियो । सो गठबन्धनमा पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको नेतृत्वको पार्टी फोर्जा इटालिया र म्याटियो साल्भिनीको लिग रहेको छ ।
‘म गणतन्त्रप्रति वफादार हुने कसम खान्छु,’ ४५ वर्षीय मेलोनीले राष्ट्रपति सर्जियो माटारेलासामु सपथ लिँदैं भनेकी थिइन् । उनको सरकार इटालीमा २२ वर्षयता गठन भएको १२ औं हो र यसले पूर्व युरोपेली केन्द्रीय बैंक प्रमुख मारियो ड्राघीको नेतृत्वमा रहेको राष्ट्रिय एकता सरकारलाई विस्थापित गर्नेछ ।
नयाँ सरकार सामु बढ्दो मन्दी कम गर्ने, बढ्दो ऊर्जा खर्च र युक्रेन युद्धमा कसरी गठबन्धनलाई एक रुपमा प्रस्तुत गर्ने भन्ने चुनौती हुनेछ । मेलोनीले युक्रेनलाई समर्थन गर्ने वाचा गरिरहँदा गठबन्धनका अर्का नेता बर्लुस्कोनीले बारम्बार रुसप्रति सहानुभूति व्यक्त गरिरहेका छन् । यो साता पनि उनले युक्रेन युद्धको लागि कीभलाई दोष दिए । साथै उनले उनका पुरानो मित्र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट उपहार र ‘मिठा पत्र’ पाएको खुलासा गरे ।
धेरै दिनको तनावपूर्ण र पर्दा पछाडिको वार्तापछि, मेलोनीले शुक्रबार आफ्नो टोलीको अनावरण गरेकी थिइन् । गठबन्धनका अन्य साझेदार दल लीग र फोर्जा इटालियालाई पाँच–पाँच मन्त्रीहरू दिएर उनले आफ्नो पार्टीका लागि नौ क्याबिनेट पद राखेकी छन् । २४ सदस्यीय क्याबिनेटका बाँकी सदस्य भने टेक्नोक्राट हुनेछन् । क्याबिनेटमा ६ जना मात्रै महिला छन् । –रोयर्टसबाट
वि.सं.२०७९ कात्तिक ५ शनिवार १९:१४

















