१९ वर्षपछि पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त अदालतमा उपस्थित, पुर्पक्षका लागि कारागार चलान
वि.सं.२०८३ कात्तिक १४ शनिवार १९:५२

बारा-बाराका पत्रकार वीरेन्द्रकुमार साहको अपहरण तथा हत्या भएको झण्डै १९ वर्षपछि घटनाका मुख्य अभियुक्त लालबहादुर चौधरी धामी अदालतमा उपस्थित भएका छन्। लामो समयदेखि फरार रहँदै आएका चौधरी बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएपछि अदालतले उनलाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठाउने आदेश दिएको छ।
२०६४ साल असोज १८ गते बाराको साविक उम्जन गाविसअन्तर्गत पिपरा बजारबाट पत्रकार साहको अपहरण गरिएको थियो। उनीसँगै रहेका रामदेव दासलाई पनि अपहरण गरिए पनि पछि मुक्त गरिएको थियो। दासले प्रहरीसमक्ष दिएको बयानपछि घटनाको अनुसन्धान अघि बढेको थियो।
अपहरण भएको करिब ३५ दिनपछि २०६४ कात्तिक २२ गते बाराको साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकैको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो। अनुसन्धानका क्रममा उनलाई गोली हानी हत्या गरिएको पुष्टि भएको थियो।
एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध भएर पत्रकारिता गर्दै आएका साहको हत्यामा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरू संलग्न रहेको आरोप लागेको थियो। घटनामा लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनी गरी पाँच जनाविरुद्ध अनुसन्धान भएको थियो।
घटनाका अन्य अभियुक्तहरू विभिन्न समयमा पक्राउ परे पनि चौधरी भने लामो समयसम्म प्रहरीको खोजी सूचीमा रहेका थिए।
यस प्रकरणमा मनेजर गिरी २०६५ असोज १९ गते र रामएकवाल सहनी सोही वर्ष पुस २१ गते पक्राउ परेका थिए। बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते उनीहरूलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। पछि बाँकी कैद मिनाहा भएपछि उनीहरू कारागारमुक्त भएका थिए।
त्यसैगरी फरार रहेका कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित आफ्नै घरबाट पक्राउ परेका थिए। हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए। बारा जिल्ला अदालतले २०७८ पुस २६ गते फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। दुवैले सजाय भुक्तान गरिसकेका छन्।
लामो समयसम्म चौधरी फरार रहेपछि उनको पक्राउ र कानुनी कारबाहीको माग पत्रकारिता क्षेत्रबाट निरन्तर उठ्दै आएको थियो। नेपाल पत्रकार महासंघले घटनाको छानबिनका लागि समिति गठन गरी २०६४ असोज २३ गते सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताको संलग्नता औँल्याएको थियो।
पत्रकार साहको हत्यालाई लिएर नेपाल पत्रकार महासंघसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार र मानवअधिकारसम्बन्धी संस्थाहरूले दोषीमाथि कारबाहीको माग गर्दै आएका थिए।
मुख्य अभियुक्तमध्येका चौधरी अदालतमा उपस्थित भई पुर्पक्षका लागि कारागार चलान भएपछि लामो समयदेखि अधुरो रहेको यस हत्याकाण्डको कानुनी प्रक्रियाले नयाँ चरण प्रवेश गरेको छ। करिब दुई दशकदेखि न्यायको प्रतीक्षामा रहेको पत्रकार साह हत्या प्रकरणमा चौधरीको अदालतमा उपस्थितिलाई महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।
वि.सं.२०८३ कात्तिक १४ शनिवार १९:५२

















